काठमाडौं — एमालेभित्र फेरि विवाद सिर्जना भएको छ । सुदूरपश्चिम इन्चार्जका विषयमा एमालेमा विवाद सिर्जना भएको हो ।सोही विवादको समाधानका लागि आइतबार बिहान एमाले उपाध्यक्ष डा।भीम रावल, नेताहरु विष्णु पौडेल, सुवास नेम्वाङ, हाल सुदूरपश्चिम इञ्चार्ज रहेका लेखराज भट्ट, अध्यक्ष कर्ण थापा ओली निवास बालकोट पुगेका थिए ।
माओवादीसँग एकता हुनुअघि रावल सुदूरपश्चिम इञ्चार्ज थिए । तर, ओलीले पुसमा संसद विघटन गरेपछि आफूलाई साथ दिएका पूर्व माओवादी नेता लेखराज भट्टलाई सुदूरपश्चिम इञ्चार्ज बनाएका थिए । यसअघि एमाले विवादका समयमा १० बुँदे सहमति भएको थियो । सहमतिमा पार्टीलाई जेठ २ मा लैजाने उल्लेख छ । उक्त सहमतिअनुसार रावलले सिधैं सुदूरपश्चिम इञ्चार्ज हुनुपर्ने हो ।
तर, आइतबारको भेटमा ओलीले सुदूरपश्चिम प्रदेश कमिटीको इन्चार्जको भूमिकामा लेखराज भट्ट रहने बताएपछि रावल झस्किएका छन् । उनी निकट स्रोतका अनुसार आइतबार ओलीको भेटपछि रावल असन्तुष्ट छन् । आइतबारको भेटमा ओलीले रावलाई भनेका छन्, ‘तपाईंहरूको आ–आफ्नो जिम्मेवारी छ । काम अघि बढेन भन्ने कुरा आएको छ । लेखराज भट्ट इन्चार्ज हुनुहुन्छ । कर्ण थापा अध्यक्ष हुनुहुन्छ । तपाईंले उपाध्यक्षको हैसियतामा त्यसमा संयोजन गर्नुस् । जेठ २ मा जाने ढंगले काम अघि बढाइसकेका छौँ । त्यसमा समस्या छैन ।’
ओलीले एमालेको विवाद समाधानका लागि गठित तत्कालीन कार्यदलले सुझाएको १० बुँदे सहमति सिर्जनात्मक ढंगले कार्यान्वयन हुनपर्ने अडान राखेका थिए । तर रावलले भने दश बुँदे कार्यान्वयन पार्टीको निर्णय भएको बताएका थिए ।
गएको १० भदौको केन्द्रीय कमिटी र ८ भदौको स्थायी कमिटी बैठकले १० बुँदे सहमति कार्यान्वयन गर्ने निर्णय गरेको थियो । १० बुँदे अनुसार एमाले पार्टी संरचना २ जेठ २०७५ अगाडिको अवस्थामा फर्कनुपर्ने र आफू सुदूरपश्चिमको इन्चार्ज हुनुपर्ने रावलले बताएका थिए । तर, ओलीले त्यसलाई नमानेपछि रावल असन्तुष्ट छन् ।
रावल निकट स्रोत भन्छ, ‘रावल स्वतः इञ्चार्ज हुनुपर्ने हो । तर ओलीले लेखराज भट्टलाई नै कायम राख्नेपछि रावल असन्तुष्ट हुनुहुन्छ । अब कसरी अगाडि बढ्ने भनेर रावल छलफलमा हुनुहुन्छ ।’