निर्वाचन आयोगले पार्टीको आधिकारिकता खोसिदिएको जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षले आज (आइतबार) पनि तराई मधेशका चार जिल्लामा अगुवा कार्यकर्ता भेला गर्दैछ।
आयोगले पार्टीको आधिकारिकता उपेन्द्र यादव समूहलाई दिएपछि ठाकुर(महतो पक्ष अहिले दलबिहीनको अवस्थामा छ। नयाँ पार्टी गठनको तयारीस्वरुप ठाकुर पक्षले अहिले तराईका सबै जिल्लामा कार्यकर्ता भेला आयोजना गरिरहेको छ। गएको शुक्रबारदेखि सुरु भएको भेला आगामी ९ भदौसम्म चल्ने ठाकुर महतो समूहले जनाएको छ।
यो समूहले महोत्तरी, सप्तरी, सिरहा, बारा, झापा, धनुषा, पर्सा र कैलाली जिल्लामा अगुवा कार्यकर्ता भेला गरिसकेको छ। आज सुनसरी, सर्लाही, रुपन्देही र कञ्चनपुरमा भेला गरिने ठाकुर समूहका एक नेताले जानकारी दिए। आजको भेलामा पनि पार्टीका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ। सुनसरीमा नेतारु डा।सुरेन्द्र झा, सन्तोष मेहता, जय प्रकाश ठाकुर र अरविन्द साहले सम्बोधन गर्दैछन्।
त्यसैगरी सर्लाहीमा राजेन्द्र महतो, जितेन्द्र सोनल र अभिराम शर्माले सम्बोधन गर्ने कार्यक्रम छ भने रुपन्देहीमा नेताहरु सर्वेन्द्र नाथ शुक्ल, उमाशंकर अरगरिया र कृष्णा सिंहले सम्बोधन गर्दैछन्। कंचनपुरमा नेताहरु चन्द्रकान्त चौधरी, राजकुमार लेखी र दानबहादुर विश्वकर्माले सम्बोधन गर्ने कार्यक्रम छ।
यसअघिका जिल्ला भेलामा सहभागी अधिकांश अगुवा कार्यकर्ताले नयाँ पार्टी खोलेर अघि बढ्न नेताहरुलाई सुझाब दिएका थिए।