काठमाडौं–तराई÷मधेस द्रुतमार्गअन्तर्गत मकवानपुरको महादेवटारमा निर्माणाधीन सुरुङको ब्रेकथ्रु हुनु महत्वपूर्ण उपलब्धि हो । पहाडको छाती छिचोलेर दुई दिशाबाट खनिएको सुरुङ जोडिनु प्राविधिक क्षमता, इन्जिनियरिङ दक्षता र निर्माणकर्मीको अथक परिश्रमको परिणाम हो । यसले राष्ट्रिय गौरवको आयोजनामा एउटा उल्लेखनीय खुड्किलो पार गरेको सन्देश दिएको छ । तर, एउटा सुरुङ सम्पन्न हुँदैमा ७१ किलोमिटर लामो द्रुतमार्ग निर्माणको सफलता सुनिश्चित हुँदैन । यो उपलब्धिले आयोजनाको वास्तविक अवस्था, निर्माण व्यवस्थापनको प्रभावकारिता र राज्यको विकास प्राथमिकतामाथि गम्भीर प्रश्न उठाउने अवसर पनि दिएको छ ।
द्रुतमार्गको समग्र भौतिक प्रगति ५१ प्रतिशत पुगेको छ । यो तथ्य आफैँमा उत्साहजनकभन्दा बढी चिन्ताजनक छ । २०७४ निर्माणको जिम्मा नेपाली सेनालाई दिँदा ४ वर्षमा पूरा गर्ने भनिएको थियो । पछिल्लो पटक २०८१ पुसभित्र निर्माण सम्पन्न हुनुपर्ने थियो । तर, पटक–पटक समयसीमा संशोधन हुँदै अहिले २०८६ चैतलाई नयाँ लक्ष्य बनाइएको छ । अर्थात्, एउटा रणनीतिक राष्ट्रिय आयोजना सम्पन्न गर्न राज्यले निर्धारित समयभन्दा ८ वर्षभन्दा बढी अतिरिक्त अवधि खर्चिनुपर्ने अवस्था सिर्जना भएको छ । प्रश्न उठ्छ, राष्ट्रिय गौरवको आयोजना भनेर विशेष प्राथमिकतामा राखिएको परियोजना किन समयमै अघि बढ्न सकेन ? यसको जवाफ केवल भौगोलिक कठिनाइ, प्राविधिक जटिलता वा ठेकेदारको कमजोरीमा खोजेर पुग्दैन । यसका पछाडि राज्यको योजना निर्माण, निर्णय प्रक्रिया, ठेक्का व्यवस्थापन र जवाफदेहिताको समग्र समीक्षा आवश्यक छ ।
नेपाली सेनालाई २०७४ साउन २७ गते निर्माण व्यवस्थापनको जिम्मेवारी सुम्पिएपछि आयोजनाले गति लिएको दाबी गरिँदै आएको छ । सेनाको व्यवस्थापनमा सुरुङ तथा पुल निर्माणजस्ता जटिल काम अघि बढ्नु सकारात्मक पक्ष हो । तर, आयोजनाको व्यवस्थापन सेनाले गरिरहेको छ भन्दैमा नागरिक प्रशासन, सरकार र राजनीतिक नेतृत्व आफ्नो जिम्मेवारीबाट मुक्त हुन सक्दैनन् । निर्माण व्यवस्थापनको जिम्मेवारी कसले लिएको छ भन्नेभन्दा पनि निर्धारित समय, लागत र गुणस्तरभित्र आयोजना सम्पन्न हुन्छ कि हुँदैन भन्ने विषय महत्वपूर्ण हो । राष्ट्रिय गौरवको आयोजनाको सफलता संस्थागत क्षमताको प्रमाण हुनुपर्छ, कुनै एउटा निकायको प्रतिष्ठाको विषयमात्र होइन ।
सुरुङ खन्नु र सुरुङ सञ्चालनयोग्य बनाउनु दुई फरक चरण हुन् । विद्युतीय प्रणाली, भेन्टिलेसन, प्रकाश, अग्नि नियन्त्रण तथा आपत्कालीन सुरक्षा व्यवस्थापनका काम सम्पन्न गर्नुपर्छ । त्यसैले सुरुङको ब्रेकथ्रुलाई सम्पूर्ण निर्माण सम्पन्न भएको उपलब्धिका रूपमा प्रचार गर्नु उचित हुँदैन । राज्यले भौतिक प्रगतिको प्रतिशतसँगै संरचनाको गुणस्तर, सञ्चालनयोग्यता र सुरक्षा मापदण्डको अवस्थासमेत सार्वजनिक गर्नुपर्छ ।
यस आयोजनाको अर्को गम्भीर पक्ष लागत वृद्धि र समयको अनिश्चितता हो । मूल्य अभिवृद्धि करसहित २ खर्ब ११ अर्ब ९३ करोड रुपैयाँ अनुमान गरिएको आयोजनामा ठूलो सार्वजनिक लगानी परिचालन भइरहेको छ । यति ठूलो लगानी भएको परियोजनामा प्रत्येक वर्षको ढिलाइले प्रत्यक्ष आर्थिक भारमात्र बढाउँदैन, सम्भावित आर्थिक लाभ प्राप्त हुने समय पनि पछाडि धकेल्छ । काठमाडौं र तराई–मधेसबीचको दूरी तथा यात्रा समय घटाउने, व्यापारिक गतिविधि विस्तार गर्ने, पर्यटन प्रवद्र्धन गर्ने र राष्ट्रिय अर्थतन्त्रलाई गतिशील बनाउने अपेक्षा गरिएको आयोजनाको प्रतिफल ढिलाइसँगै प्रभावित भइरहेको छ । त्यसैले अब प्रश्न आयोजना कहिले सम्पन्न हुन्छ भन्ने मात्र होइन, स्वीकृत लागत र अनुमानित लाभबीचको सन्तुलन कसरी कायम गरिन्छ भन्ने पनि हो ।
सरकारले ढिलाइ गर्ने ठेकेदार कम्पनीको ठेक्का सम्झौता अन्त्य गर्न सकिने चेतावनी दिनु सकारात्मक भए पनि चेतावनीले मात्र निर्माणको गति बढ्दैन । ठेक्का तोड्ने निर्णय राजनीतिक भाषणको विषय होइन, प्रमाण, प्राविधिक मूल्यांकन र कानूनी प्रक्रियामा आधारित हुनुपर्छ । कमजोर कार्यसम्पादन गर्ने कम्पनीलाई कारवाही गर्नुपर्छ, तर राज्यकै निर्णय ढिलाइ, भुक्तानी समस्या, जग्गा उपलब्धतामा कमजोरी वा डिजाइन परिवर्तनका कारण काम प्रभावित भएको भए त्यसको जिम्मेवारी पनि सम्बन्धित निकायले लिनुपर्छ । ठेकेदारलाई दोष दिएर सरकारी कमजोरी लुकाउने प्रवृत्तिले विकास व्यवस्थापनलाई झन् कमजोर बनाउँछ ।
यसको सबैभन्दा स्पष्ट उदाहरण ललितपुरको खोकना–डुकुछाप खण्ड हो । करिब ६.५ किलोमिटर क्षेत्रमा जग्गा अधिग्रहण, मुआब्जा र अन्य व्यवस्थापनसम्बन्धी विवाद समाधान हुन नसक्नु राज्यको पूर्वतयारीमाथिको गम्भीर प्रश्न हो । कुनै पनि ठूलो पूर्वाधार आयोजना सुरु गर्नुअघि जग्गा प्राप्ति, स्थानीय समुदायको सहमति, वातावरणीय प्रभाव र सामाजिक न्यायका विषय स्पष्ट हुनुपर्छ । आयोजना घोषणा गर्ने, बजेट विनियोजन गर्ने र निर्माणको जिम्मेवारी हस्तान्तरण गर्ने तर जग्गा विवाद वर्षौँसम्म समाधान नगर्ने प्रवृत्ति विकासको नाममा प्रशासनिक गैरजिम्मेवारी हो ।
खोकनाका बासिन्दाको सरोकारलाई केवल विकासविरोधी अवरोधका रूपमा चित्रण गर्नु पनि न्यायोचित हुँदैन । विकासले स्थानीय नागरिकको भूमि, संस्कृति, जीविकोपार्जन र पहिचानलाई सम्मान गर्नुपर्छ । राष्ट्रिय आवश्यकताको आयोजना भन्दैमा स्थानीय समुदायका अधिकारलाई बेवास्ता गर्न मिल्दैन । उचित मुआब्जा, पारदर्शी संवाद र न्यायपूर्ण पुनस्र्थापनाको व्यवस्था गरेरमात्र विकास र नागरिक अधिकारबीच सन्तुलन कायम गर्न सकिन्छ । द्रुतमार्गको अन्तिम बिन्दुसम्म सहज निर्माण सुनिश्चित गर्न सरकारले यो विवादलाई प्राथमिकताका साथ समाधान गर्नुपर्छ ।
महादेवटार सुरुङको ब्रेकथ्रु एउटा उपलब्धि हो, तर यो आयोजनाको अन्तिम गन्तव्य होइन । वास्तविक ब्रेकथ्रु त राज्यको ढिलासुस्ती, कमजोर समन्वय, अपारदर्शी ठेक्का व्यवस्थापन र जवाफदेहिताविहीन कार्यशैलीमा हुनुपर्छ । ५१ प्रतिशत भौतिक प्रगतिलाई सफलताको उत्सव बनाएर बाँकी चुनौती ओझेलमा पार्नु हुँदैन । अबको प्राथमिकता नयाँ घोषणा र औपचारिक समारोह होइन, समयमै काम सम्पन्न गर्ने कार्यक्षमता प्रदर्शन गर्नु हो । राष्ट्रिय गौरवको अर्थ ठूलो बजेट, आकर्षक नाम र भव्य शिलान्यास मात्र होइन; नागरिकले समयमै गुणस्तरीय सेवा प्राप्त गर्नु हो । द्रुतमार्ग निर्माणको वास्तविक सफलता सुरुङको अर्को छेउमा देखिने उज्यालोमा मात्र होइन, राज्यको विकास व्यवस्थापनमा देखिने जवाफदेहिता र इमानदारीमा पनि मापन हुनुपर्छ ।
अब आयोजनालाई प्रचारमुखी उपलब्धिको शृङ्खलाबाट परिणाममुखी कार्यान्वयनको चरणमा लैजान आवश्यक छ । प्रत्येक निर्माण खण्डको समयतालिका, ठेकेदारको जिम्मेवारी, भौतिक तथा वित्तीय प्रगति र समस्या समाधानको अवस्थालाई सार्वजनिक गर्नुपर्छ । स्वतन्त्र प्राविधिक अनुगमन, नियमित संसदीय निगरानी र नागरिकस्तरको जवाफदेहिता सुनिश्चित गरिनुपर्छ । समयमै काम नगर्ने पक्षलाई कारबाही गर्ने व्यवस्था जति आवश्यक छ, समयमै निर्णय र सहजीकरण गर्न नसक्ने सरकारी निकायलाई जवाफदेही बनाउने व्यवस्था पनि उत्तिकै आवश्यक छ ।