युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकाले अत्यावश्यक क्षेप्यास्त्र प्रतिरोधी हतियार आपूर्तिमा ढिलाइ गर्दा युक्रेनी नागरिकको ज्यान जोखिममा परेको बताएका छन्। उनले रुससँगको शान्ति वार्तामा पनि अमेरिकाले पर्याप्त दबाब दिन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
बीबीसीसँग किभस्थित आफ्नो कार्यालयमा भएको अन्तर्वार्तामा जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई ‘मेरो मित्र’ भन्दै अँगालो हालेको तस्बिर सार्वजनिक गर्नु अनौठो भएको टिप्पणी गरे।
‘उनी आक्रमणकारी र हत्यारा हुन्। उनी मित्र हुन सक्दैनन्,’ जेलेन्स्कीले भने। उनले दोस्रो विश्वयुद्धका बेला एडोल्फ हिटलरसँग मित्रता रहेको भन्नुजस्तै भएको टिप्पणीसमेत गरे।
सन् २०२५ मा ह्वाइट हाउसको ओभल अफिसमा ट्रम्पसँग भएको असहज भेटपछि जेलेन्स्कीले अमेरिकासँगको सम्बन्धलाई सावधानीपूर्वक अघि बढाउँदै आएका छन्।
अमेरिकाका दुई विशेष दूतले रुस र युक्रेनबीच युद्ध अन्त्यका लागि शान्ति सम्झौताको प्रयास गरिरहेका छन्। तर उनीहरूका कतिपय अभिव्यक्ति रुसको पक्षसँग बढी मेल खाने गरेको किभको बुझाइ छ।
यसै महिनाको सुरुवातमा अबुधाबीमा भएको पछिल्लो शान्ति वार्ताले पनि उल्लेखनीय प्रगति गर्न सकेन। जेलेन्स्कीले वार्ताका क्रममा समस्या झन् बढ्दै गएको बताएका छन्। उनका अनुसार डिसेम्बरमा पुनः वार्ता हुने अपेक्षा गरिएको छ।
यसैबीच ट्रम्पले बिहीबार आफ्नो ट्रुथ सोसलमार्फत चीनमा पुटिनसँग भएको शिखर वार्ताका क्रममा रुसलाई युरोपका विभिन्न क्षेत्रमा सैन्य आक्रमण रोक्न आग्रह गरेको बताएका थिए। उनले युक्रेनसँग शान्ति सम्झौताको सम्भावना बलियो रहेको दाबीसमेत गरेका थिए।
तर रुसले वार्तामा सुरुदेखि नै राख्दै आएको कठोर अडान पुनः दोहोर्याएको युक्रेनको बुझाइ छ। वार्तामा युरोपेली प्रतिनिधिहरू सहभागी हुने विषयसमेत अनिश्चित रहेको जेलेन्स्कीले बताएका छन्।
जेलेन्स्कीले रुसलाई वार्तामा सहमत गराउन अमेरिकाले आफ्नो शक्ति र प्रभाव प्रयोग गर्नुपर्ने बताएका छन्। आक्रमणकारीप्रति तटस्थ देखिनुले पीडित र आक्रमणकारी दुवैलाई समर्थन गरेजस्तो हुने उनको भनाइ छ।
प्याट्रियट क्षेप्यास्त्रको अभावले युक्रेन चिन्तित
रुसी आक्रमण तीव्र भइरहेका बेला युक्रेनले आफ्नो हवाई सुरक्षा प्रणालीमा अत्यावश्यक क्षेप्यास्त्रको अभाव भोगिरहेको जेलेन्स्कीले बताएका छन्।
उनका अनुसार युक्रेनी सेनाले रुसका तीव्र गतिका ड्रोनमध्ये करिब ७० प्रतिशत नष्ट गर्न सफल भए पनि ब्यालिस्टिक क्षेप्यास्त्र रोक्ने इन्टरसेप्टरको ठूलो अभाव छ।
विशेषगरी अमेरिकाले उपलब्ध गराउने प्याट्रियट हवाई प्रतिरक्षा प्रणालीका क्षेप्यास्त्र आपूर्तिमा ढिलाइ भइरहेको उनले बताए।
‘मध्यपूर्वलाई प्राथमिकता दिएर उनीहरूले त्यहाँ बढी सहयोग गरिरहेका छन्। यो दुःखद हो। यी क्षेप्यास्त्रको अभाव भनेको मानिसहरूको जीवनसँग जोडिएको विषय हो,’ उनले भने।
अमेरिकी कम्पनी स्पेसएक्सको स्टारलिंक र यसको सैन्य संस्करण स्टारसिल्ड सेवा युक्रेनका रुसी नियन्त्रणमा रहेका क्षेत्रमा अझै सीमित रहेको विषय पनि उनले उठाए।
कठिन जाडोको सामना गर्दै युक्रेन
युक्रेनले पछिल्ला साताहरूमा रुसका तेल प्रशोधन केन्द्र तथा इन्धन र हतियार बोकेका जहाजलाई लक्षित गरी लामो दूरीका आक्रमण बढाएको छ।
यसैबीच इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले पूर्वी लिबियामा रहेको रुसी युद्धपोतमाथिको आक्रमणले भूमध्यसागरीय क्षेत्रमा युद्ध फैलिने जोखिम बढाएको भन्दै चिन्ता व्यक्त गरेकी छन्।
जेलेन्स्कीले भने उक्त युद्धपोत युक्रेनका लागि वैध सैन्य निशाना रहेको दाबी गरेका छन्।
उता रुसले किभसहित युक्रेनका विभिन्न सहरमा ऊर्जा केन्द्र, पुल तथा यातायात पूर्वाधारलाई लक्षित गरी आक्रमण जारी राखेको छ। विद्युत् कटौती र आपूर्ति सञ्जालमा परेको असरका कारण किभका केही व्यवसाय बन्द भएका छन् भने कतिपय बासिन्दा जाडो छल्न सहर छाड्न थालेका छन्।
जेलेन्स्कीले युक्रेनले कठिन र जोखिमपूर्ण जाडोको सामना गर्नुपर्ने स्वीकार गर्दै राजधानी किभको रक्षा कुनै पनि हालतमा गर्ने बताएका छन्।
‘मानिसहरू जान सक्छन्, तर हामी आफ्नो राजधानीलाई जसरी पनि रक्षा गर्ने प्रयास गर्नेछौँ। राजधानीबिना देश हुँदैन,’ उनले भने।