नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का कर्मचारीहरू अध्यादेश र नियमावलीप्रति असन्तुष्टि जनाउँदै आन्दोलनमा उत्रिएका छन्।
शुक्रबार प्रतिष्ठानको प्रांगणमा प्लेकार्डसहित प्रदर्शन गर्दै कर्मचारीहरूले सरोकारवालासँग छलफल नै नगरी नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा प्रतिष्ठानसम्बन्धी अध्यादेश तथा नियमावली ल्याइएको भन्दै विरोध गरेका हुन्।
उनीहरूले विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नैतिक जिम्मेवारी लिँदै तत्काल राजीनामा दिनुपर्ने मागसमेत गरेका छन्।
विरोध कार्यक्रममा बोल्दै प्राविधिक अधिकृत समुन्द्र कँडेलले नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा प्रतिष्ठान अध्यादेश, २०८३ र नियमावली वैज्ञानिक तथा कर्मचारीमैत्री नभएको बताए।
उनले सुधारका नाममा विद्यमान संस्थालाई कमजोर बनाउने, विज्ञान क्षेत्रलाई अन्योलमा धकेल्ने र दक्ष जनशक्ति पलायन गराउने कदम स्वीकार्य नहुने चेतावनी दिए।
कर्मचारीहरूले अध्यादेश तथा नियमावली तत्काल खारेज गर्न, सरोकारवालाको सुझाव समेटेर विज्ञानमैत्री ऐन, नियमावली तथा नीति निर्माण गर्न र संस्थामाथि मन्त्रालय तथा मन्त्रीको दबाब अन्त्य गर्न माग गरेका छन्।
त्यस्तै, प्रतिष्ठानको सक्षम नेतृत्व खुला प्रतिस्पर्धा र विज्ञापनमार्फत चयन गर्नुपर्ने उनीहरूको माग छ।