वीरगञ्जमा नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गराई जुवा खेल्ने तथा खेलाउने कार्यमा संलग्न रहेको आरोपमा १२ जना पक्राउ परेका छन्।
वीरगञ्ज महानगरपालिका–१० लोहारपट्टी चोकस्थित फर्चुन सिटी गेमिङ क्लब प्रालि (क्यासिनो) मा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाइरहेको अवस्थामा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार २०८३ मंसिर १० गते राति करिब ११:५० बजे क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराएर जुवा खेलाइरहेको सूचना प्राप्त भएको थियो।
उक्त सूचनाका आधारमा खटिएको प्रहरी टोलीले १२ जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा ल्याएको थियो। पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
जुवा खेल्ने कार्यमा संलग्न पक्राउ पर्नेहरूमा पर्साको वीरगञ्ज महानगरपालिका निवासी ६२ वर्षीय बिजय अग्रवाल, ३० वर्षीय सन्तोषकुमार यादव, २४ वर्षीय अनुराग कुमार र ४८ वर्षीय दीपक साह रहेका छन्।
त्यसैगरी पर्सागढी गाउँपालिका निवासी २६ वर्षीय दिनेश साह, बाराको कलैया उपमहानगरपालिका निवासी ४० वर्षीय नरेश प्रसाद, काभ्रेको महाभारत गाउँपालिका निवासी ४७ वर्षीय गुन्जमान मोक्तान, सिन्धुलीको मरिन गाउँपालिका निवासी २७ वर्षीय बिनोदकुमार लो. र काठमाडौंको शंखरापुर नगरपालिका निवासी ४० वर्षीय राजेश श्रेष्ठ पनि पक्राउ परेका छन्।
नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गराउने तथा जुवा खेलाउने कार्यमा संलग्न रहेको आरोपमा बैतडीको दोगडाकेदार गाउँपालिका निवासी ५४ वर्षीय तिलकप्रसाद भट्ट, पर्साको वीरगञ्ज महानगरपालिका निवासी ३७ वर्षीय प्रभु साह तुरहा र सिरहाको धनगढीमाई नगरपालिका निवासी ४६ वर्षीय दीपकराज पराजुली पक्राउ परेका छन्।
घटनाबारे जिल्ला प्रहरी कार्यालय पर्साले थप अनुसन्धान गरिरहेको जनाएको छ।