शुक्रबार सेयर बजार परिसूचक नेप्से ८.५७ अंकले घटेर २ हजार ६२८ अंकमा झरेको छ। अघिल्लो दिन पनि नेप्से १०.८९ अंकले घटेको थियो।
नेप्सेसँगै कारोबार रकममा समेत गिरावट आएको छ। बिहीबार ५ अर्ब ४८ करोड रुपैयाँको कारोबार भएकोमा शुक्रबार ४ अर्ब ८२ करोड रुपैयाँमा सीमित भएको छ।
आज ५९ कम्पनीको सेयर मूल्य बढ्दा २०३ कम्पनीको घटेको छ भने १७ कम्पनीको मूल्य स्थिर रहेको छ।
बैंकिङ र निर्जीवन बीमा समूह मात्रै बढे
शुक्रबार बैंकिङ समूह ०.०७ प्रतिशत र निर्जीवन बीमा समूह ०.३० प्रतिशतले बढेका छन्।
अन्य सबै समूह घटेका छन्। विकास बैंक ०.७६, फाइनान्स ०.०४, होटल तथा पर्यटन ०.१४, जलविद्युत् ०.७४, लगानी ०.४१, जीवन बीमा ०.३०, उत्पादन तथा प्रशोधन ०.६५, माइक्रोफाइनान्स ०.५२, अन्य ०.४४ र व्यापार समूह ०.१७ प्रतिशतले घटेका छन्।
एनआईसी एसियाको मूल्य सबैभन्दा धेरै बढ्यो
आज एनआईसी एसिया बैंकको सेयर मूल्य सबैभन्दा धेरै ६.०८ प्रतिशतले बढेको छ। त्यस्तै, मान्डु हाइड्रोपावरको ४.७६, बेस्ट फाइनान्सको ४.३०, उपकार लघुवित्तको ३.१३ र माथिल्लो मैलुङखोला जलविद्युत्को ३.०६ प्रतिशतले मूल्य बढेको छ।
यता सोपान फर्मास्युटिकल्सको मूल्य सबैभन्दा धेरै ५.३७ प्रतिशतले घटेको छ। युनिक नेपाल लघुवित्त ४.६४, बेनी हाइड्रोपावर ४.२७, भुजुङ हाइड्रोपावर ४.२१, स्वस्तिक लघुवित्त ३.९४ र बोटलर्स नेपाल तराई ३.४९ प्रतिशतले घटेका छन्।
कारोबारमा लक्ष्मी सनराइज बैंक अगाडि
कारोबार रकमका आधारमा शुक्रबार लक्ष्मी सनराइज बैंक पहिलो स्थानमा रहेको छ।
त्यसपछि क्रमशः ग्लोबल आईएमई बैंक, हिमालय ऊर्जा विकास कम्पनी, एनआईसी एसिया बैंक, घलेम्दी हाइड्रोपावर, पिपुल्स हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, सानिमा माई हाइड्रोपावर, एनएमबी बैंक र साहस ऊर्जा अगाडि रहेका छन्।