सरकारले बजार अनुगमनका क्रममा लगाइएको जरिबाना रकम एक महिनाभित्र सरकारी राजस्व खातामा दाखिला गर्न व्यवसायीहरूलाई निर्देशन दिएको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले शुक्रबार सूचना जारी गर्दै जरिबाना तिर्न बाँकी रहेका सबै व्यावसायिक फर्म, कम्पनी तथा प्रतिष्ठानलाई यस्तो निर्देशन दिएको हो।
विभागका अनुसार उपभोक्ताको हकहित संरक्षण तथा स्वच्छ र प्रतिस्पर्धी बजार व्यवस्थापनका लागि विभिन्न समयमा नियमित तथा आकस्मिक बजार अनुगमन गरिएको थियो। सो क्रममा प्रचलित कानुनविपरीत व्यवसाय सञ्चालन गरेको पाइएका फर्म तथा प्रतिष्ठानलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ र ३९ बमोजिम तत्काल जरिबाना गरिएको थियो।
तर, कतिपय व्यवसायीले हालसम्म पनि जरिबाना रकम सरकारी राजस्व खातामा दाखिला गरी त्यसको प्रमाण विभागमा पेस नगरेको पाइएको विभागले जनाएको छ।
विभागले पहिलोपटक सूचना प्रकाशित भएको मितिले एक महिनाभित्र जरिबाना रकम दाखिला गरी सक्कल भौचर (रसिद) सहित विभागमा जानकारी गराउन निर्देशन दिएको छ।
जरिबाना रकम हिमालयन बैंकको नयाँ बानेश्वर शाखामा राजस्व शीर्षक नम्बर १४३१२ र कार्यालय कोड नम्बर ३०७०५३५०१ प्रयोग गरी जम्मा गर्नुपर्ने सूचनामा उल्लेख छ।
एक महिनाभित्र नतिरे तीन प्रकारका कारबाही
तोकिएको समयभित्र जरिबाना रकम दाखिला नगरे सम्बन्धित व्यवसायीमाथि तीन प्रकारका कानुनी कारबाही अघि बढाइने विभागले चेतावनी दिएको छ।
पहिलो चरणमा उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम सम्बन्धित व्यावसायिक फर्म, पसल वा प्रतिष्ठानमा सिलबन्दी गरी कारोबार तत्काल रोक्का गरिनेछ।
दोस्रो चरणमा सम्बन्धित फर्म वा कम्पनीको दर्ता खारेज गर्न तथा अन्य सरकारी निकायबाट प्राप्त इजाजतपत्र वा अनुमतिपत्र निलम्बन वा खारेज गर्न सम्बन्धित निकायमा लेखी पठाइनेछ।
त्यस्तै, तेस्रो चरणमा जरिबाना रकम सरकारी बाँकीसरह असुलउपर गरिनेछ। यसका लागि सम्बन्धित मालपोत कार्यालय तथा बैंक तथा वित्तीय संस्थामार्फत व्यवसायीको चलअचल सम्पत्ति र बैंक खाता रोक्का गर्ने प्रक्रिया अघि बढाइने विभागले जनाएको छ।
जरिबाना दाखिला गर्ने प्रक्रिया तथा बैंक खातासम्बन्धी थप जानकारीका लागि विभागको आधिकारिक वेबसाइट हेर्न वा टोल फ्री नम्बर ११३७ मा सम्पर्क गर्न सकिनेछ।