वीरगन्जस्थित नेसनल मेडिकल कलेजका प्रथम वर्षका आवासीय चिकित्सकहरूले आन्दोलनका कार्यक्रम औपचारिक रूपमा अन्त्य गर्दै आजदेखि नियमित ड्युटीमा फर्किने सहमति गरेका छन्।
शिक्षा तथा खेलकुद मन्त्रालय, चिकित्सा शिक्षा आयोग, त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) डिन कार्यालय, नेपाल मेडिकल काउन्सिल, आवासीय चिकित्सक र कलेज प्रशासनबीच भएको वार्तापछि सहमति जुटेको हो।
सम्झौताअनुसार आन्दोलनमा सहभागी भएकै कारण कुनै पनि आवासीय चिकित्सकलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा दण्ड, सजाय, प्रतिशोध, मानसिक तनाव, धम्की वा कलेज तथा छात्रावासबाट निष्कासन गर्न पाइने छैन।
त्यस्तै, कटौती गरिएको सम्पूर्ण स्टाइपेन्ड फिर्ता गरिने, हप्तामा दुईभन्दा बढी २४ घण्टे ड्युटी नतोक्ने तथा ड्युटीपछिको आरामसम्बन्धी व्यवस्था निर्णयअनुसार कार्यान्वयन गर्ने सहमति भएको छ।
नियमित परीक्षा तथा शोधपत्र स्वीकृतिमा अनावश्यक ढिलाइ नगर्ने र चिकित्सकलाई अयोग्य नठहर्याउने व्यवस्था पनि सम्झौतामा समेटिएको छ।
यसैगरी, राजीनामा दिएका तथा रिलिज लेटर प्राप्त गरेका आवासीय चिकित्सकलाई समेत बिनासर्त पुनः भर्ना गरिने सहमति भएको छ। स्त्री तथा प्रसूति रोग विभागका ६ जना चिकित्सकको अनुपस्थिति तथा रोकिएको स्टाइपेन्ड फिर्ताका लागि त्रिवि आईओएम क्याम्पसमा पहल गरिने उल्लेख छ।
सम्झौतामा विभागीय प्रमुखको विवरण वा पुष्टिका आधारमा हाजिरी कायम गर्ने तथा २०८३ वैशाख १३ गतेदेखि छुटेका हाजिरी पुनः कायम गर्न आईओएम डिन कार्यालयसँग समन्वय गर्ने व्यवस्था गरिएको छ। बिदा स्वीकृतिका लागि विभागीय प्रमुख र कार्यक्रम संयोजक दुवैको हस्ताक्षर पर्याप्त हुने सहमति पनि भएको छ।
कलेज प्रशासनले सम्झौतामा हस्ताक्षर गर्दै त्यसको कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ। सहमति कार्यान्वयन हुने विश्वास व्यक्त गर्दै आवासीय चिकित्सकहरूले आन्दोलनका कार्यक्रम फिर्ता लिई आजैदेखि नियमित ड्युटीमा फर्कने जनाएका छन्।

