माता सीता र भगवान् श्रीरामको जन्मभूमिलाई जोड्ने उद्देश्यसहित जनकपुरधाम–अयोध्या रेल सेवा सञ्चालनमा आएसँगै जनकपुरधाममा आयोजना हुने विवाहपञ्चमी महोत्सवको निमन्त्रणा दिन जनकपुरधामबाट एक टोली भारतको अयोध्या प्रस्थान गरेको छ।
जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहको नेतृत्वमा जानकी मन्दिर, जनकपुरधाम उपमहानगरपालिका, विश्व हिन्दु परिषद्, नागरिक समाजका प्रतिनिधि तथा पत्रकार सम्मिलित टोली अयोध्या गएको हो।
टोलीले अयोध्यामा भगवान् श्रीरामको जन्मभूमिस्थित धार्मिक तथा सांस्कृतिक प्रतिनिधिहरूलाई जनकपुरधाममा साताव्यापी रूपमा आयोजना हुने विवाहपञ्चमी महोत्सवमा सहभागी हुन औपचारिक निमन्त्रणा दिनेछ।
टोलीका नेतृत्वकर्ता एवं जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले विवाहपञ्चमी महोत्सव जनकपुरधाम र अयोध्याबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउने महत्त्वपूर्ण अवसर भएको बताए।
त्रेतायुगमा राजा जनकले सीता–राम विवाहका लागि अयोध्याका राजा दशरथलाई निमन्त्रणा पठाएको धार्मिक प्रसंग स्मरण गर्दै उनले सोही परम्परालाई पुनः जीवन्त बनाउन आफूहरू अयोध्या जान लागेको बताए।
टोलीले निमन्त्रणासँगै लत्ताकपडा, गरगहना, भाँडाकुँडालगायतका सामग्री समावेश गरिएको भारसमेत अयोध्या लगेको छ। जनकपुरधाममा प्रत्येक वर्ष मनाइने विवाहपञ्चमी महोत्सवमा सीता–राम विवाहको परम्परालाई निरन्तरता दिँदै जानकी मन्दिरबाट अयोध्याका लागि जन्तीको निमन्त्रणा पठाउने धार्मिक चलन रहिआएको छ।
यसैबीच, गत सोमबार प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा उद्घाटन गरिएको जनकपुरधाम–अयोध्या रेल सेवा नियमित सञ्चालनमा आएको छ। यसअघि गत मंगलबार जनकपुरधाम आइपुगेको रेल सोही दिन अयोध्या फर्किएको थियो।
नेपाल र भारतबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई रेल सञ्जालमार्फत थप मजबुत बनाउने उद्देश्यले सुरु गरिएको सरयू–कमला एक्सप्रेसले करिब ६०४ किलोमिटर दूरी १९ घण्टामा पार गर्नेछ।
नेपाल रेलवे कम्पनीका अनुसार रेलको स्लिपर श्रेणीको भाडा ५८४ रुपैयाँ र एसी श्रेणीको अधिकतम भाडा दुई हजार १७६ रुपैयाँ निर्धारण गरिएको छ।
कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीका अनुसार सरयू–कमला एक्सप्रेस प्रत्येक शनिबार दिउँसो १ बजेर १० मिनेटमा जनकपुरधामबाट अयोध्याका लागि प्रस्थान गर्नेछ। रेल आइतबार बिहान ८ बजेर १० मिनेटमा भारतीय समयअनुसार अयोध्या क्यान्ट रेलवे स्टेसन पुग्नेछ।
त्यस्तै, रेल प्रत्येक सोमबार साँझ ५ बजेर ५० मिनेटमा अयोध्याबाट जनकपुरधामका लागि प्रस्थान गर्नेछ। उक्त रेल मंगलबार दिउँसो १२ बजेर ४० मिनेटमा नेपाली समयअनुसार जनकपुरधाम आइपुग्नेछ।
पराजुलीका अनुसार बिहीबारदेखि सुरु भएको टिकट बुकिङ शनिबार बिहानसम्म जारी रहेको थियो। यद्यपि, हालसम्म कति यात्रुले टिकट बुकिङ गराए भन्ने विवरण भने उनले सार्वजनिक गर्न चाहेनन्।
नयाँ रेल सेवाले जनकपुरधाम र अयोध्याबीचको धार्मिक पर्यटन, सांस्कृतिक आदानप्रदान तथा दुई देशबीचको जनस्तरको सम्बन्धलाई थप विस्तार गर्ने अपेक्षा गरिएको छ।