आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ मा शीर्ष चारभित्र पर्न असफल भएपछि नेपालले सन् २०२७ मा आयोजना हुने एकदिवसीय विश्वकप खेल्ने सम्भावना जीवित राख्न अब क्वालिफायर प्लेअफ खेल्ने भएको छ। घरेलु मैदानमा आयोजना हुने यस प्रतियोगितामा शीर्ष चारभित्र पर्न सके नेपालले विश्वकप छनोटको अन्तिम चरण मानिने ग्लोबल क्वालिफायरमा स्थान बनाउनेछ।
यसअघि सन् २०२३ को एकदिवसीय विश्वकप छनोटमा सिधै प्रतिस्पर्धा गरेको नेपाल यसपटक भने छनोटको अर्को चरणमा पुग्न प्लेअफको बाटो तय गर्न बाध्य भएको हो। लिग–२ मा अपेक्षाअनुसार प्रदर्शन गर्न नसक्दा नेपाल छैटौं स्थानमा सीमित भएको थियो।
अनुभवी प्रशिक्षक स्टुअर्ट लको आगमनपछि नेपाली टोलीले ५० ओभरको क्रिकेटमा सुधार गर्ने अपेक्षा गरिएको थियो। सुरुवाती खेलमा उत्साहजनक प्रदर्शन गरे पनि त्यसलाई निरन्तरता दिन नसक्दा नेपालले सिधै विश्वकप छनोटमा पुग्ने अवसर गुमायो।
लिग–२ अन्तर्गत खेलेका ३६ खेलमा नेपालले १४ जित, २० हार र दुई नतिजाविहीन खेलसहित ३० अंक जोडेको थियो। शीर्ष चारमा रहेका अमेरिका, स्कटल्यान्ड, नेदरल्यान्ड्स र ओमानले सिधै ग्लोबल क्वालिफायरमा स्थान सुरक्षित गर्दा नेपालसहित नामिबिया, क्यानडा र यूएईले प्लेअफ खेल्नुपर्ने भएको हो।
प्रत्यक्ष छनोटको अवसर गुमाए पनि नेपालको विश्वकप यात्रा भने समाप्त भएको छैन। आगामी डिसेम्बर ४ देखि २१ सम्म काठमाडौंमा आयोजना हुने क्वालिफायर प्लेअफमा लिग–२ का चार टोलीसँगै आईसीसी च्यालेन्ज लिगबाट छनोट भएका चार टोलीले प्रतिस्पर्धा गर्नेछन्।
च्यालेन्ज लिग ‘ए’ बाट जर्सी र कुवेत तथा ‘बी’ बाट इटाली र युगान्डा प्लेअफमा छनोट भएका छन्। आठ टोलीले एकअर्कासँग एक–एक खेल खेल्नेछन्। सात खेलपछि अंकतालिकाको शीर्ष चारमा रहने टोली ग्लोबल क्वालिफायरमा प्रवेश गर्नेछन्।
घरेलु मैदान र समर्थकको साथ नेपालका लागि प्रतियोगितामा महत्त्वपूर्ण पक्ष बन्ने अपेक्षा गरिएको छ। नेपालले प्रतियोगिताको उद्घाटन खेलमै डिसेम्बर ४ मा इटालीसँग प्रतिस्पर्धा गर्नेछ। नेपालका सबै सात खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुनेछन्।
नेपालका सात खेल
नेपालले इटालीसँग खेल्दै प्लेअफको यात्रा सुरु गर्नेछ। त्यसपछि डिसेम्बर ६ मा युगान्डा, डिसेम्बर १० मा यूएई, डिसेम्बर १२ मा जर्सी र डिसेम्बर १४ मा क्यानडासँग प्रतिस्पर्धा गर्नेछ।
त्यस्तै, डिसेम्बर १८ मा नामिबिया र डिसेम्बर २१ मा कुवेतसँग नेपालको खेल हुनेछ। सातवटै खेल कीर्तिपुरमा हुने भएकाले घरेलु मैदानको फाइदा उठाउँदै शीर्ष चारमा पुग्नु नेपालका लागि मुख्य चुनौती हुनेछ।
नेपालले सामना गर्ने टोलीमध्ये नामिबिया, क्यानडा र यूएई लिग–२ कै परिचित प्रतिद्वन्द्वी हुन्। यी तीनै टोलीसँग नेपालले यसअघि प्रतिस्पर्धा गरिसकेको छ। तर च्यालेन्ज लिगबाट आएका इटाली, युगान्डा, जर्सी र कुवेतसँगको प्रतिस्पर्धा नेपाली टोलीका लागि नयाँ चुनौती हुनेछ।
इटालीसँग नेपालले यसअघि टी–२० विश्वकपमा प्रतिस्पर्धा गरिसकेको छ। तर एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा भने यी दुई टोली पहिलोपटक आमनेसामने हुनेछन्। इटालीले पनि पहिलोपटक ओडीआई खेल्न लागेको हो।
यस्तै, युगान्डासँग नेपालले यसअघि ५० ओभरको क्रिकेटमा छ पटक प्रतिस्पर्धा गरिसकेको छ। अब हुने प्लेअफका खेल युगान्डाका लागि पनि पहिलो ओडीआई खेल्ने अवसर बन्नेछन्।
जर्सीसँग भने नेपालले सन् २०१० मा घरेलु मैदानमै प्रतिस्पर्धा गरेको थियो। त्यसबेला नेपालले जर्सीलाई पराजित गरेको थियो। पछिल्लो पटक नेदरल्यान्ड्समा भएको लिग–२ शृंखलाअघि गत असारमा भएका दुई अभ्यास खेलमा पनि नेपालले जर्सीलाई दुवै खेलमा हराएको थियो। ओडीआई क्रिकेटमा भने नेपाल र जर्सी पहिलोपटक भिड्दैछन्।
ओडीआई विश्वकप खेल्ने नेपालको सपना
तीनपटक टी–२० विश्वकप खेलिसकेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अहिलेसम्म एकदिवसीय विश्वकपमा भने स्थान बनाउन सकेको छैन। त्यसैले ५० ओभरको विश्वकप खेल्नु नेपाली क्रिकेटको लामो समयदेखिको सपना रहँदै आएको छ।
यसपटकको क्वालिफायर प्लेअफ नेपालका लागि उक्त सपना साकार पार्ने यात्राको महत्त्वपूर्ण खुड्किलो हो। प्लेअफमा शीर्ष चारभित्र पर्न सके नेपालले सन् २०२७ को विश्वकप छनोटको अन्तिम चरणमा प्रतिस्पर्धा गर्ने अवसर पाउनेछ। अन्यथा विश्वकप खेल्ने अर्को अवसरका लागि थप चार वर्ष कुर्नुपर्ने हुन सक्छ।
१० टोली सहभागी हुने ग्लोबल क्वालिफायरमा वेस्ट इन्डिज, आयरल्यान्ड, अमेरिका, स्कटल्यान्ड, नेदरल्यान्ड्स र ओमानले यसअघि नै स्थान सुरक्षित गरिसकेका छन्। प्लेअफबाट शीर्ष चार टोली छनोट भएपछि ग्लोबल क्वालिफायरका सबै १० टोलीको टुंगो लाग्नेछ।
सन् २०२७ को फेब्रुअरी र मार्चमा आयोजना हुने ग्लोबल क्वालिफायरमा १० टोलीलाई पाँच–पाँच टोलीका दुई समूहमा विभाजन गरिनेछ। समूह चरणपछि सेमिफाइनल र फाइनल खेल सञ्चालन हुनेछन्। प्रतियोगिताको विजेताले एकदिवसीय विश्वकपको समूह चरणमा सिधै स्थान बनाउनेछ।
दोस्रो, तेस्रो र चौथो स्थानमा रहने टोलीले सुपर सिरिज खेल्नेछन्। सुपर सिरिजबाट विश्वकपको समूह चरणमा पुग्ने अर्को एक टोलीको टुंगो लाग्नेछ।
सन् २०२७ को एकदिवसीय विश्वकप दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियामा अक्टोबर २ देखि नोभेम्बर २१ सम्म आयोजना हुँदैछ। प्रतियोगितामा १४ टोली सहभागी हुनेछन्।
नेपालका लागि अहिलेको पहिलो र सबैभन्दा महत्त्वपूर्ण लक्ष्य घरेलु मैदानमा हुने क्वालिफायर प्लेअफको शीर्ष चारमा स्थान बनाउनु हो। त्यसो गर्न सके मात्र नेपाली क्रिकेटको एकदिवसीय विश्वकप खेल्ने सपना साकार पार्ने यात्रा अर्को चरणमा प्रवेश गर्नेछ।