साउदी अरबको दक्षिणपश्चिमी जाजान क्षेत्रमा रहेको तेल प्रशोधन केन्द्रमा भएको आक्रमणमा एक नेपाली कामदारको मृत्यु भएको छ भने केही अन्य घाइते भएका छन्।
साउदी अरबको ऊर्जा मन्त्रालयका अनुसार बिहीबार प्रहार गरिएको एक क्षेप्यास्त्र तेल प्रशोधन केन्द्रमा खसेपछि आगलागी भएको थियो। घटनापछि केन्द्रका केही सञ्चालन गतिविधि अस्थायी रूपमा बन्द गरिएको मन्त्रालयले जनाएको छ।
इरान समर्थित यमनका हुथी विद्रोही र साउदी अरबबीच रणनीतिक पूर्वाधार, तेल प्रशोधन केन्द्र तथा बन्दरगाहलाई लक्षित गरी आक्रमण तीव्र भइरहेका बेला यो घटना भएको हो।
यसअघि बुधबार हुथी विद्रोहीले साउदी अरबको सबैभन्दा ठूलो तेल प्रशोधन केन्द्र रास तनुरालाई लक्षित गरी आक्रमण गरेको दाबी गरेका थिए। बुधबार खिचिएको भूउपग्रह तस्बिरमा उक्त तटीय क्षेत्रमा ठूलो मात्रामा कालो धुवाँ फैलिएको देखिएको थियो।
हुथी नियन्त्रित सशस्त्र बलले आक्रमणका कारण रास तनुरा क्षेत्रमा आगलागी भएको दाबी गरेको छ। विश्वकै ठूलो कच्चा तेल निर्यात केन्द्रमध्ये एक रहेको उक्त क्षेत्रमा आक्रमणपछि तेल लोड गर्ने काम रोकिएको एक सिपिङ स्रोतले सीएनएनलाई बताएको छ। यद्यपि, त्यसपछि पुनः सञ्चालनमा आएको वा नआएको स्पष्ट भइसकेको छैन।
साउदी नेतृत्वको गठबन्धन सेनाले भने रास तनुरा क्षेत्रमा आएका चारवटा ड्रोनलाई अवरोध गरी नष्ट गरेको जनाएको छ। ड्रोनका भग्नावशेष खसे पनि मानवीय क्षति नभएको उसको भनाइ छ।
रास तनुरा तेल प्रशोधन केन्द्रको दैनिक प्रशोधन क्षमता ५ लाख ५० हजार ब्यारेल रहेको छ।
यसैबीच हुथी विद्रोहीले बुधबार रियादस्थित किङ अब्दुल्लाह इकोनोमिक सिटीमा पनि आक्रमण गरेको दाबी गरेका छन्। साउदी अधिकारीहरूका अनुसार उक्त आक्रमणमा ११ जना घाइते भएका छन्। आक्रमणको निशानामा परेको भवनमा साउदी अरबको सार्वभौम सम्पत्ति कोष पब्लिक इन्भेस्टमेन्ट फन्ड (पीआईएफ) को मुख्यालय रहेको प्रत्यक्षदर्शीले सीएनएनलाई बताएका छन्।
यमनमा साउदी नेतृत्वको सेनाको आक्रमण तीव्र
हुथी विद्रोहीका आक्रमणपछि साउदी नेतृत्वको गठबन्धन सेनाले यमनका हुथी नियन्त्रित क्षेत्रमा हवाई तथा सैन्य कारबाही तीव्र बनाएको छ।
बिहीबार गठबन्धन सेनाले साना, होदेदा र सादा प्रान्तमा हुथी विद्रोहीका सैन्य संरचनालाई लक्षित गरी ५० वटा स्थानमा सटीक सैन्य कारबाही गरेको जनाएको छ।
यसअघि बुधबार पनि होदेदा बन्दरगाहसहित सादा र अमरान प्रान्तका विभिन्न स्थानमा आक्रमण गरिएको गठबन्धन सेनाले जनाएको थियो।
उता हुथी नियन्त्रित सशस्त्र बलले पछिल्लो २४ घण्टामा साना र होदेदासहित यमनका विभिन्न क्षेत्रमा साउदी लडाकु विमान तथा क्षेप्यास्त्रबाट १०९ पटक आक्रमण भएको दाबी गरेको छ।
हुथी नियन्त्रित स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो ४८ घण्टामा साउदी आक्रमणमा कम्तीमा १९ सर्वसाधारणको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्। यद्यपि, यी आक्रमण तथा हताहतीसम्बन्धी दाबीलाई सीएनएनले स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन।
अमेरिकी भ्रमणको तयारीमा साउदी युवराज
हुथी विद्रोहीले पछिल्ला केही सातादेखि साउदी अरबका महत्वपूर्ण पूर्वाधारलाई निरन्तर निशाना बनाउँदै आएका छन्। गत महिना रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा समेत पटक–पटक आक्रमण हुँदा एक दर्जनभन्दा बढी मानिसको मृत्यु भएको थियो।
यसैबीच साउदी युवराज मोहम्मद बिन सलमान इरान युद्ध सुरु भएयता पहिलोपटक अमेरिका भ्रमणको तयारीमा छन्। योजनाबारे जानकार एक स्रोतका अनुसार उनी आगामी महिना अमेरिकाको फ्लोरिडास्थित मियामीमा हुने जी–२० शिखर सम्मेलनमा सहभागी हुन सक्नेछन्। यद्यपि, साउदी अधिकारीहरूले उनको सहभागिताबारे औपचारिक पुष्टि गरेका छैनन्।
साउदी अरबले हुथी विद्रोहीका निरन्तर क्षेप्यास्त्र तथा ड्रोन आक्रमणको सामना गर्न आफ्नो रक्षा क्षमता सुदृढ बनाउन अमेरिकासँग सहयोग माग्दै आएको छ।
प्रस्तावित भ्रमण भएमा युद्ध सुरु भएयता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युवराज सलमानबीच पहिलो प्रत्यक्ष भेटवार्ता हुनेछ।
सन् २०२२ मा संयुक्त राष्ट्रसंघको मध्यस्थतामा भएको युद्धविरामपछि केही वर्ष शान्त रहेको साउदी नेतृत्वको गठबन्धन र हुथी विद्रोहीबीच गत जुलाईदेखि पुनः झडप सुरु भएको थियो। सेप्टेम्बरमा हुथी विद्रोही बाब अल–मन्देब जलडमरूमध्यतर्फ अघि बढेपछि क्षेत्रीय तनाव थप बढेको छ। उक्त जलमार्ग विश्व व्यापार तथा समुद्री तेल ढुवानीका लागि महत्वपूर्ण मानिन्छ।