वीरगञ्ज महानगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालनमा रहेका लघु, घरेलु तथा साना उद्योगलाई कानुनी दायरामा ल्याउन नयाँ ऐन तथा नियमावली लागू गरेको छ। महानगरले ‘उद्योग दर्ता, सञ्चालन, व्यवस्थापन र नियमन सम्बन्धी ऐन, २०८३’ जारी गर्दै उद्योग दर्तादेखि नवीकरण, अनुगमन र प्रवर्द्धनसम्मका प्रक्रियालाई व्यवस्थित गर्न लागेको हो।
महानगर प्रमुख राजेशमान सिंहले वीरगञ्जमा ठूला उद्योगसँगै ठूलो सङ्ख्यामा घरेलु तथा साना उद्योगसमेत सञ्चालनमा रहेकाले तिनको व्यवस्थापन र नियमन आवश्यक भएको बताए।
उनका अनुसार नयाँ कानुनी व्यवस्थाको उद्देश्य व्यवसायीलाई असहज बनाउनु नभई उद्योगलाई कानुनी सुरक्षा, सुविधा र प्रोत्साहन प्रदान गर्दै व्यवसाय विस्तारका लागि अनुकूल वातावरण तयार गर्नु हो।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले दिएको अधिकार प्रयोग गरी ल्याइएको नयाँ व्यवस्थाअनुसार महानगरपालिका क्षेत्रभित्र सञ्चालन हुने स्थानीय उद्योग अनिवार्य रूपमा दर्ता हुनुपर्नेछ। आवश्यक कागजातसहित निवेदन प्राप्त भएपछि जाँचबुझ गरी प्रक्रिया पूरा भएको अवस्थामा १५ दिनभित्र दर्ता प्रमाणपत्र उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ।
यसअघि प्रचलित कानुनअनुसार दर्ता भएर सञ्चालनमा रहेका उद्योगले पनि नयाँ ऐन लागू भएको छ महिनाभित्र महानगरपालिकामा आफ्नो अभिलेख अद्यावधिक गराउनुपर्नेछ।
सूचना प्रविधि उद्योगलाई पाँच वर्षसम्म कर छुट
नयाँ ऐनले उद्योग प्रवर्द्धन तथा लगानी आकर्षित गर्न विभिन्न कर छुट र सहुलियतको व्यवस्था गरेको छ।
सूचना प्रविधि, सफ्टवेयर विकास तथा डिजिटल सेवासम्बन्धी उद्योग तोकिएको क्षेत्रमा स्थापना भए पाँच वर्षसम्म ५० प्रतिशत व्यवसाय कर छुट दिन सकिने व्यवस्था गरिएको छ।
त्यस्तै, महिलाको पूर्ण स्वामित्वमा रहेका तथा दलित, सीमान्तकृत र अपाङ्गता भएका व्यक्तिले सञ्चालन गरेका उद्योगलाई दर्ता शुल्कमा ५० प्रतिशत छुट दिने व्यवस्था पनि ऐनमा समेटिएको छ।
महानगरपालिकाले नयाँ कानुनी व्यवस्थाबाट स्थानीय उद्योगलाई औपचारिक अर्थतन्त्रमा जोड्न, लगानी विस्तार गर्न तथा रोजगारी सिर्जना गर्न सहयोग पुग्ने अपेक्षा गरेको छ।
यससँगै वीरगञ्जको औद्योगिक पहिचानलाई थप मजबुत बनाउँदै साना तथा घरेलु उद्यमीका लागि उद्योगमैत्री वातावरण निर्माण गर्ने महानगरको लक्ष्य रहेको छ।