आज नोभेम्बर २७ मा पहिलोपटक बालविवाह, कम उमेर तथा जबर्जस्ती विवाह अन्त्यसम्बन्धी अन्तर्राष्ट्रिय दिवस मनाइँदैछ। यस अवसरमा संयुक्त राष्ट्रसंघले विश्वभर बढ्दो बालविवाह अन्त्यका लागि प्रभावकारी प्रयास तीव्र बनाउन आह्वान गरेको छ।
राष्ट्रसंघका अनुसार विश्वभर प्रत्येक वर्ष करिब एक करोड २० लाख बालिकाको १८ वर्ष नपुग्दै विवाह हुने गरेको छ। सन् २०२६ सम्ममा विश्वका करिब ६५ करोड महिला तथा बालिकाको बाल्यकालमै विवाह भइसकेको छ। प्रत्येक पाँचमध्ये एक बालिकाको बालविवाह हुने गरेको तथ्याङ्क छ भने प्रत्येक तीन सेकेन्डमा एक बालिका यसको सिकार हुने गरेकी छन्।
राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बालविवाहले बालिकाको शिक्षा, स्वास्थ्य र सुरक्षामा गम्भीर असर पार्ने बताएका छन्। गरिबी यसको प्रमुख कारण भए पनि द्वन्द्व, जलवायुजन्य विपद् र विस्थापनका कारण जोखिम थप बढ्ने उनको भनाइ छ। बालिकालाई विद्यालयमा टिकाइराख्ने, परिवारको आर्थिक अवसर विस्तार गर्ने, कानूनी संरक्षण बलियो बनाउने र लैङ्गिक विभेद अन्त्य गर्ने प्रयासले बालविवाह रोक्न सकिने उनले बताएका छन्।
पछिल्लो २५ वर्षमा शिक्षा, सामाजिक संरक्षण र कानुनी सुधारका कारण करिब ६ करोड ८० लाख बालविवाह रोकिएको राष्ट्रसंघले जनाएको छ। तर, सन् २०३० सम्म बालविवाह अन्त्य गर्ने लक्ष्य हासिल गर्न वर्तमान प्रयासको गति २० गुणा बढाउनुपर्ने युनिसेफका उपकार्यकारी निर्देशक टेड चाइबानले बताएका छन्। उनका अनुसार विवाहको न्यूनतम उमेर १८ वर्ष कायम गर्ने कानुनको प्रभावकारी कार्यान्वयन, न्यायमा पहुँच र संरक्षण सेवा आवश्यक छन्।
विश्वमा बालविवाहको सबैभन्दा ठूलो भार दक्षिण एसियाले बेहोरेको छ। विश्वभर बालविवाहमा परेका महिला तथा बालिकामध्ये ४४ प्रतिशत अर्थात् करिब २८ करोड ५० लाख दक्षिण एसियामा छन्। त्यस्तै, उपसहारा अफ्रिकामा १८ प्रतिशत अर्थात् करिब ११ करोड ५० लाख रहेका छन्।
पछिल्लो एक दशकमा विश्वव्यापी बालविवाहको दर २५ प्रतिशतबाट घटेर २१ प्रतिशतमा झरेको छ। यस अवधिमा करिब दुई करोड ५० लाख बालविवाह रोकिएका छन्। यद्यपि, हालको प्रगतिको गतिले बालविवाह अन्त्य हुन अझै करिब ३०० वर्ष लाग्ने राष्ट्रसंघले चेतावनी दिएको छ।
बालविवाहले बालिकाको शिक्षा, आर्थिक आत्मनिर्भरता र व्यक्तिगत स्वतन्त्रतामा बाधा पुर्याउनुका साथै किशोरावस्थामै गर्भधारण, मातृस्वास्थ्य जोखिम, लैङ्गिक हिंसा तथा यौन शोषणको सम्भावना बढाउँछ।
दिगो विकास लक्ष्यको लक्ष्य नं। ५।३ ले सन् २०३० सम्म बालविवाह, कम उमेर तथा जबर्जस्ती विवाहलगायत सबै हानिकारक प्रथा अन्त्य गर्ने लक्ष्य राखेको छ। यसका लागि कानुनी सुधार, गुणस्तरीय शिक्षामा पहुँच, सामाजिक तथा आर्थिक सुरक्षा र बालिकालाई आफ्ना जीवनसम्बन्धी निर्णयमा सहभागी गराउनुपर्नेमा राष्ट्रसंघले जोड दिएको छ। साथै, विवाह भइसकेका, गर्भवती तथा सन्तान भएका किशोरीलाई पनि शिक्षा निरन्तरता दिन र पुनः विद्यालय फर्कन सहयोग गर्नुपर्ने बताएको छ।