भारतीय अभिनेता रणवीर सिंह सोमबार राति मुम्बईस्थित छत्रपति शिवाजी महाराज अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएका छन् । पश्चिम भारत सिने कर्मचारी महासंघ (एफडब्लुआइसीई) ले उनीविरुद्ध असहयोग निर्देशन जारी गरेको केही घण्टापछि रणवीर विमानस्थल पुगेका हुन् ।
सामाजिक सञ्जालमा सार्वजनिक भिडियो तथा तस्बिरहरूमा रणवीर सेतो कुर्ता–पाइजामा र नेहरू ज्याकेटमा देखिएका छन् । उनले कालो फेस मास्क र सनग्लाससमेत लगाएका थिए । कडा सुरक्षाबीच विमानस्थल प्रवेश गरेका रणवीरले सञ्चारकर्मी तथा फोटोग्राफरहरूको आग्रहका बाबजुद कुनै प्रतिक्रिया दिएनन् ।
एफडब्लुआइसीईले अभिनेता रणवीर सिंहलाई ‘डन ३’ बाट अन्तिम समयमा बाहिरिएको आरोप लगाउँदै उनीविरुद्ध असहयोगको निर्णय गरेको हो । निर्देशक फरहान अख्तर र रणवीरबीच यस फिल्मलाई लिएर गत वर्षदेखि विवाद चलिरहेको बताइएको छ ।
गत महिना फरहान अख्तरले इन्डियन फिल्म एन्ड टेलिभिजन डायरेक्टर्स एसोसिएसन (आईएफटीडीए) मार्फत एफडब्लुआइसीईमा उजुरी दर्ता गराएका थिए । उजुरीमा रणवीरको फिल्मबाट अचानक बाहिरिने निर्णयका कारण निर्माण पक्षलाई करिब ४५ करोड भारतीय रुपैयाँ बराबरको नोक्सानी भएको दाबी गरिएको छ ।
एफडब्लुआइसीईले जारी गरेको पत्रअनुसार फिल्मको पूर्व–निर्माणमा ठूलो लगानी भइसकेको अवस्थामा मुख्य कलाकारको अन्तिम समयमा भएको बहिर्गमनले फिल्मको सम्पूर्ण कार्यान्वयनमा गम्भीर असर पारेको उल्लेख गरिएको छ ।
विवाद सार्वजनिक भएपछि रणवीर सिंहका आधिकारिक प्रवक्ताले सोमबार राति वक्तव्य जारी गर्दै अभिनेता रणवीरले फिल्म क्षेत्र र ‘डन’ फ्रेन्चाइजप्रति उच्च सम्मान राख्ने बताएका छन् ।
वक्तव्यमा भनिएको छ, “रणवीर सिंहले हालसम्म सार्वजनिक रूपमा कुनै प्रतिक्रिया दिएका छैनन्, किनकि उनी व्यावसायिक विषयहरूलाई गरिमा, परिपक्वता र आपसी सम्मानका साथ समाधान गर्नुपर्छ भन्ने मान्यता राख्छन् ।”
प्रवक्ताले रणवीर अहिले आफ्ना आगामी काम र प्रतिबद्धतामा केन्द्रित रहेको पनि बताएका छन् ।
एक्सेल इन्टरटेनमेन्टले सन् २०२३ अगस्टमा ‘डन ३’ घोषणा गरेको थियो । फिल्मको टिजरमार्फत रणवीरलाई नयाँ ‘डन’का रूपमा प्रस्तुत गरिएको थियो । यसअघि उक्त चर्चित भूमिकामा अमिताभ बच्चन र शाहरुख खानले अभिनय गरिसकेका छन् ।