भदौ १० गते आएको रसुवा बाढीका कारण चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर घट्ने विश्व बैंकले प्रक्षेपण गरेको छ। बाढीका कारण उद्योग तथा सेवा क्षेत्रमा परेको अवरोधले आर्थिक वृद्धिदर ३.७ प्रतिशतमा सीमित हुने बैंकको अनुमान छ।
विश्व बैंकको पछिल्लो विकाससम्बन्धी अद्यावधिक प्रतिवेदन ‘भविष्यका लागि फरक ढंगले पुनर्निर्माण’ अनुसार बाढीबाट भएको व्यापक क्षतिका कारण नेपालको आर्थिक वृद्धि तथा औद्योगिक क्षेत्र बढी प्रभावित हुने देखिएको छ। यद्यपि पुनर्निर्माण तथा पुनर्स्थापनाका गतिविधि अघि बढेसँगै आर्थिक गतिविधिमा सुधार आउने र आर्थिक वर्ष २०८४/८५ मा वृद्धिदर ५.२ प्रतिशत पुग्ने अनुमान गरिएको छ।
बाढीका कारण जलविद्युत्, सौर्य ऊर्जा, विद्युत् प्रसारण तथा यातायात पूर्वाधारमा भएको क्षतिले विद्युत् उत्पादन, उत्पादनमूलक गतिविधि र वस्तु आवागमनमा प्रत्यक्ष असर पार्ने विश्व बैंकले जनाएको छ। व्यापार, यातायात, पर्यटन तथा वित्तीय गतिविधिमा आएको अवरोधले सेवा क्षेत्रसमेत प्रभावित हुने आकलन गरिएको छ।
कृषि क्षेत्रमा भएको क्षतिको समग्र उत्पादनमा प्रभाव सीमित रहने भए पनि प्रभावित क्षेत्रमा जनजीविकामा भने उल्लेखनीय असर पर्न सक्ने प्रतिवेदनमा उल्लेख छ।
माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका डिभिजन निर्देशक डेभिड सिस्लेनले रसुवा बाढीले मानवीय तथा आर्थिक क्षेत्रमा ठूलो क्षति पुर्याएको बताए। उनका अनुसार विपद्पछि नेपालले सडक, सञ्चार, ऊर्जा, खानेपानी, सरसफाइ, स्वास्थ्य र शिक्षाजस्ता आधारभूत पूर्वाधारलाई थप उत्थानशील बनाउने अवसरका रूपमा पुनर्निर्माणलाई अघि बढाउनुपर्ने आवश्यकता छ।
विश्व बैंकले राहत तथा उद्धारबाट पुनर्निर्माणतर्फ अघि बढ्दा क्षतिग्रस्त संरचना पुनर्स्थापनामा मात्र सीमित नरही बहुविपद् जोखिमको पुनर्मूल्यांकन गर्न सुझाव दिएको छ। पूर्वाधारको स्थान र डिजाइनमा सावधानी अपनाउन तथा यातायात, ऊर्जा र सञ्चारका महत्वपूर्ण सञ्जालमा वैकल्पिक व्यवस्था सुनिश्चित गर्न पनि जोड दिइएको छ।
त्यस्तै, विपद् पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउनुका साथै संकटमा परेका परिवारलाई विपद्पछिको सहायता छिटो उपलब्ध गराउन एकीकृत सामाजिक संरक्षण प्रणाली विकास गर्नुपर्ने प्रतिवेदनको सुझाव छ।
यसैबीच, विश्व बैंकको पछिल्लो दक्षिण एसिया आर्थिक अद्यावधिक प्रतिवेदनले यस वर्ष दक्षिण एसियाको आर्थिक वृद्धिदर ६.९ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ। सन् २०२७ मा भने यो वृद्धिदर ६.७ प्रतिशत मा झर्ने अनुमान गरिएको छ।
प्रतिवेदनले दक्षिण एसियामा कृत्रिम बुद्धिमत्ता (एआई) को रणनीतिक प्रयोगबाट आर्थिक वृद्धिका नयाँ अवसर सिर्जना गर्न सकिने विषयलाई समेत समेटेको छ। एआईको प्रयोग विकसित अर्थतन्त्रको तुलनामा दक्षिण एसियामा अझै कम भए पनि व्यवसायहरूले बजारका नयाँ अवसर पहिचान गर्न यसको प्रयोग बढाउँदै गएको विश्व बैंकले जनाएको छ।
विश्व बैंक समूहकी एसियाका लागि प्रमुख अर्थशास्त्री फ्रान्जिस्का ओन्सर्गका अनुसार एआईले श्रम उत्पादकत्व बढाउन, निर्यातका अवसर विस्तार गर्न तथा सार्वजनिक सेवा प्रवाह सुधार गर्न सहयोग पुर्याउन सक्छ। त्यसका लागि दक्ष जनशक्ति विकास, व्यवसायमैत्री वातावरण, भौतिक तथा डिजिटल पूर्वाधार सुधार र स्पष्ट नियामक संरचना आवश्यक रहेको प्रतिवेदनले औँल्याएको छ।