साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंकले घटेको छ। नेपाल स्टक एक्स्चेन्ज (नेप्से)का अनुसार शुक्रबार बजार ११.९० अंकले घटेर २ हजार ५८७.२५ विन्दुमा रोकिएको छ।
आज बजार ०.४५ प्रतिशतले घटेको हो। बजार घटे पनि कारोबार रकम भने ४ अर्ब रुपैयाँभन्दा माथि रहेको छ। कुल ३५६ धितोपत्रको ४३ हजार ६८५ कारोबारबाट १ करोड १९ लाख १२ हजार ५५० कित्ता सेयर किनबेच भएका छन्।
ती कारोबारबाट कुल ४ अर्ब २९ करोड ३७ लाख ७४ हजार १८१ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
शुक्रबार म्युचुअल फन्ड र व्यापारबाहेक सबै उपसमूहको सूचक घटेका छन्। सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन उपसमूह ०.७३ प्रतिशतले घटेको छ।
एनएमबी डिबेन्चरको मूल्य १४ प्रतिशतभन्दा बढी बढ्यो
शुक्रबार एनएमबी डिबेन्चरको मूल्य सर्वाधिक १४.२९ प्रतिशतले बढेको छ। एसबीएल डिबेन्चरको मूल्य ८.८० प्रतिशतले बढेको छ।
यसैगरी मान्डु हाइड्रोपावर, लक्ष्मी उन्नति कोष र एनआईबीएल ग्रोथ फन्डलगायतका धितोपत्रको मूल्य पनि बढेको छ।
सिन्धु विकास बैंकका लगानीकर्ताले धेरै गुमाए
शुक्रबार सिन्धु विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन्। बैंकको सेयर मूल्य ८.५५ प्रतिशतले घटेको छ।
त्यस्तै, धौलागिरि लघुवित्त वित्तीय संस्थाको मूल्य ४.९५ प्रतिशतले घटेको छ। मुक्तिनाथ कृषि कम्पनी, अपोलो हाइड्रोपावर र सर्वोत्तम पेन्ट्सलगायतका धितोपत्रको मूल्य पनि घटेको छ।
कारोबार रकमका आधारमा भने एसबीएल डिबेन्चर सबैभन्दा अगाडि रहेको छ।
अघिल्लो साता अर्थ मन्त्रालयले सेयर बजार सुधारका विभिन्न उपाय घोषणा गरे पनि त्यसको सकारात्मक प्रभाव यो साता बजारमा देखिन सकेन। पछिल्लो कारोबार प्रवृत्तिले लगानीकर्ता अझै ‘पर्ख र हेर’को रणनीतिमा रहेको संकेत गरेको छ।