राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद रहबर अन्सारीले वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा अध्ययनरत पोष्टग्राजुयट (पीजी) विद्यार्थीको आन्दोलनप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै वीरगञ्ज निवासी अन्सारीले पीजी विद्यार्थीहरू विगत १० दिनदेखि आन्दोलनमा रहेको बताए। उनका अनुसार आन्दोलनमा उत्रिएका विद्यार्थीलाई होस्टेल खाली गर्न लगाउनुका साथै आन्दोलन गर्न र कलेजको गेटबाट प्रवेश गर्नसमेत रोक लगाइएको छ।
विद्यार्थीहरूले मेडिकल कलेजमा भइरहेको भनिएको अनियमितताविरुद्ध आवाज उठाएपछि कलेज प्रशासनले उनीहरूको आन्दोलन रोक्न खोजेको अन्सारीको दाबी छ।
उनले नेशनल मेडिकल कलेजमा करिब २५ जना ‘फेक फ्याकल्टी मेम्बर’ अर्थात् काममा नरहेका प्राध्यापकलाई देखाएर पीजी सिट लिइएको आरोप लगाए। चिकित्सा शिक्षा आयोगको निरीक्षणका क्रममा कलेज व्यवस्थापनले सुरक्षागार्डलाई समेत नक्कली बिरामी बनाएर इमर्जेन्सीमा राखेको आरोप उनले लगाए।
अन्सारीले भने, ‘त्यस मेडिकल कलेजमा लगभग २५ जना फेक फ्याकल्टी मेम्बर, कामै नगर्ने प्रोफेसरहरू देखाएर पीजी सिट लिइएको छ।’
उनका अनुसार चिकित्सा शिक्षा आयोगको निरीक्षणका क्रममा सुरक्षागार्डलाई बिरामी बनाएर इमर्जेन्सीमा राखिएको थियो। उनले यस्ता गतिविधिबारे राज्यका सम्बन्धित निकायले गम्भीरतापूर्वक छानबिन गर्नुपर्ने बताए।
अन्सारीले चिकित्सा शिक्षामा देखिएको बेथिति अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराउँदै विद्यार्थीको भविष्य अन्योलमा पार्ने गतिविधि रोक्नुपर्ने बताए।
उनले विगतदेखि नै यस्ता गतिविधि हुँदै आएको दाबी गर्दै सम्बन्धित मेडिकल कलेजमाथि कारबाही हुन नसक्नुमा राज्यका विभिन्न निकायमाथि प्रभाव र दबाब रहेको आरोपसमेत लगाए।
अन्सारीले आफ्नो भनाइ कुनै एउटा संस्थाविरुद्धको आरोप नभई चिकित्सा शिक्षामा देखिएको बेथिति अन्त्य गर्ने विषय भएको स्पष्ट पारे।
उनका अनुसार आन्दोलनरत विद्यार्थीमध्ये करिब आधा काठमाडौंमा छन्। उनले विद्यार्थीका माग सम्बोधन गर्दै तत्काल समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराए।