आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा हुने नेपाल, ओमान र क्यानडाबीचको त्रिकोणात्मक शृङ्खलाका लागि नेपाली टोली घोषणा गरिएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार प्रेस विज्ञप्तिमार्फत १५ सदस्यीय टोली घोषणा गरेको हो।
एसीसी प्रिमियर कपमा सहभागी टोलीबाट एक खेलाडी परिवर्तन गरिएको छ भने एक नयाँ खेलाडी थपिएका छन्। तीव्र गतिका बलर हेमन्त धामीको स्थानमा नन्दन यादवलाई टोलीमा समावेश गरिएको छ। यस्तै, बाँयाहाते स्पिनर शाहब आलम पनि टोलीमा फर्किएका छन्।
ओपनिङ ब्याटर कुशल भुर्तेल र तीव्र गतिका बलर सोमपाल कामीले भने यसपटक पनि टोलीमा स्थान बनाउन सकेनन्। ओपनर अर्जुन कुमाल र आसिफ शेखले टोलीमा निरन्तरता पाएका छन्।
लिग–२ अन्तर्गतको यो त्रिकोणात्मक शृङ्खला अक्टोबर ७ अर्थात् असोज २१ गतेदेखि ओमानमा सुरु हुनेछ। शृङ्खलाका लागि क्यानडाले पनि आफ्नो टोली घोषणा गरिसकेको छ।
नेपालको टोली :
सन्दीप लामिछाने (कप्तान), दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, आसिफ शेख, अर्जुन कुमाल, इशान पान्डे, देव खनाल, सन्दीप जोरा, बसिर अहमद, गुल्शन झा, करण केसी, नन्दन यादव, ललित राजवंशी, शाहब आलम र शेर मल्ल।