सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीय तह निर्वाचन केन्द्रित अभियान सञ्चालन गर्ने भएको छ । संघीय संसद्को चालु अधिवेशन अन्त्य भएपछि पार्टीका प्रतिनिधिसभा सदस्य तथा केन्द्रीय सदस्यहरू असोज २० गतेदेखि देशभरका पालिकामा पुग्ने भएका हुन् ।
रास्वपाकी सहमहामन्त्री निशा डाँगीका अनुसार यसपटकको अभियान नागरिकका कुरा सुन्ने मात्रै नभई पार्टीका धारणा र योजनाबारे जानकारी गराउने उद्देश्यले सञ्चालन हुँदैछ ।
भिडियो सन्देश जारी गर्दै डाँगीले भनिन्, ‘हामी तपाईंका कुरा सुन्न मात्रै होइन, यसपटक हाम्रा केही कुरा भन्न र बुझाउन पनि तपाईंको घरदैलोमा आउँदैछौं ।’ उनका अनुसार पार्टीका सम्पूर्ण केन्द्रीय सदस्य र सांसदहरू नागरिकसँग प्रत्यक्ष संवादका लागि पालिकास्तरमा पुग्नेछन् ।
रास्वपाका अनुसार पालिका केन्द्रित अभियानका मुख्यतः दुई उद्देश्य छन् । पहिलो, स्थानीय तहको कामकारबाही तथा आगामी निर्वाचनमा उम्मेदवार छनोट गर्ने विधिबारे नागरिकलाई जानकारी गराउनु हो । दोस्रो, वर्तमान सरकार गठन भएपछि संसद् र सरकारमार्फत भएका नीतिगत पहल तथा कामबारे नागरिकलाई जानकारी गराउनु हो ।
स्थानीय सरकार नागरिकको दैनिक जीवन र विकाससँग प्रत्यक्ष जोडिने भएकाले स्थानीय नेतृत्व छनोटको लोकतान्त्रिक प्रक्रियाबारे पनि नागरिकलाई जानकारी गराउने रास्वपाले जनाएको छ ।
डाँगीले आगामी फागुनमा हुने स्थानीय तह निर्वाचनमा सक्षम, इमानदार र नेतृत्व लिन तयार व्यक्तिलाई कसरी अगाडि बढाउने भन्ने विषयमा नागरिकलाई जानकारी गराउनु अभियानको अर्को महत्त्वपूर्ण उद्देश्य रहेको बताइन् ।
रास्वपाले यसअघि सार्वजनिक गरेको उम्मेदवार छनोटको रूपरेखाअन्तर्गत ‘क्यान्डिडेट क्लब’, ‘लिडरसिप एकेडेमी’ तथा लोकतान्त्रिक छनोट प्रक्रियामार्फत उम्मेदवार चयन गर्ने बताउँदै आएको छ ।
सरकार गठन भएको करिब ६ महिनाको अवधिमा संसद् र सरकारमार्फत भएका नीतिगत पहल, नागरिकसँग गरिएका प्रतिबद्धताको कार्यान्वयन अवस्था तथा आगामी योजनाबारे पनि अभियानका क्रममा जानकारी गराइने रास्वपाले जनाएको छ ।
डाँगीका अनुसार अभियानअन्तर्गत रास्वपाका सांसद तथा केन्द्रीय सदस्यहरू ७७ वटै जिल्लाका ७५३ वटै पालिकामा पुग्नेछन् । उनका अनुसार यो अभियान निर्वाचनको तयारीमा मात्र सीमित नभई स्थानीय सरकारलाई थप जवाफदेही बनाउने र नागरिकको सहभागितामा नेतृत्व चयन गर्ने लोकतान्त्रिक अभ्यासका रूपमा सञ्चालन गरिनेछ।