प्रधानमन्त्री बालेन शाहले सांसदहरूलाई उनीहरूको अभिव्यक्ति र विज्ञताका आधारमा तीन वर्गमा विभाजन गरेको बताएका छन्।
बुधबार इन्जिनियरिङ पृष्ठभूमिका १७ जना सांसदसँगको छलफलका क्रममा प्रधानमन्त्री शाहले सांसदहरूको वर्गीकरणबारे आफ्नो धारणा राखेका हुन्। उनले सांसदहरूलाई ‘एभरेज’, ‘एभरेजभन्दा तल’ र ‘एक्स्ट्रा अर्डिनरी’ गरी तीन तहमा विभाजन गरेका थिए।
प्रधानमन्त्री शाहले इन्जिनियर पृष्ठभूमिका सांसदहरूलाई भने ‘एक्स्ट्रा अर्डिनरी’ समूहमा राखेका छन्। उनका अनुसार एभरेज व्यक्तिहरूले घटनाबारे कुरा गर्ने र एभरेजभन्दा तलका व्यक्तिले आफूलाई यो गर, त्यो गर भनेर निर्देशन दिने गर्छन्। तर एक्स्ट्रा अर्डिनरी व्यक्तिले नयाँ विचार र सिर्जनशीलताको कुरा उठाउने उनको भनाइ थियो।
एक सांसदलाई उद्धृत गर्दै अनलाइनखबरले जनाएअनुसार प्रधानमन्त्री शाहले भने, ‘इन्जिनियर भनेको एक्स्ट्रा अर्डिनरी हो। तपाईंहरूले आइडिया र क्रियटिभिटीको कुरा उठाउनुपर्छ। यो गरे देश बन्छ भनेर। तपाईंहरूको आइडियाले देश बन्छ।’
छलफलका क्रममा प्रधानमन्त्री शाहले औद्योगिकीकरणका लागि आवश्यक योजना र नयाँ विचार दिन इन्जिनियरिङ पृष्ठभूमिका सांसदहरूलाई आग्रह गरेका थिए।
उनले संसद्मा उठेका विषयमा सम्बन्धित मन्त्रालय, मन्त्री, प्रधानमन्त्री कार्यालय तथा मन्त्रिपरिषद् कार्यालयसँग समन्वय गर्न सकिने बताए। नयाँ आइडिया भएका सांसदलाई प्रधानमन्त्री कार्यालयमा सहज रूपमा भेट्ने वातावरण बनाइने उनको भनाइ थियो।
प्रधानमन्त्री शाहले केही नयाँ विधेयकसमेत आउने तयारीमा रहेको जानकारी दिँदै त्यसमा सांसदहरूको सुझाव र सहयोग आवश्यक रहेको बताए। आफूले देखेको र भोगेको अनुभवका आधारमा कानुन निर्माणमा सांसदहरूको इनपुट रहने भन्दै उनले सहकार्यका लागि आग्रह गरेका थिए।