पछिल्लो वर्षा र बाढीपहिरोका कारण सञ्चालनमा रहेको नेपाल–चीन सीमा नाका कोरला बन्द भएको छ । कोरला बन्द भएसँगै नेपाल र चीनबीचको अन्तर्राष्ट्रिय व्यापार प्रभावित भएको छ ।
यसअघि भदौमा आएको बाढीले रसुवागढी नाका क्षतिग्रस्त बनाएको थियो भने तातोपानी नाका चीनले एकतर्फी रूपमा बन्द गरेको छ । पछिल्लो समय बेनी–जोमसोम सडकखण्डका विभिन्न स्थानमा सडक तथा पुल क्षतिग्रस्त भएपछि कोरला नाका पनि बन्द हुन पुगेको हो ।
सडक विभागका अनुसार घासा–कोरला सडकखण्डमा पहिरो हटाएर दुईतर्फी यातायात सञ्चालनमा ल्याइएको छ । तर मुस्ताङ–बेनी सडकखण्डका विभिन्न स्थानमा सडक बगेकाले यातायात अझै प्रभावित छ ।
क्षतिग्रस्त स्थानमा भित्तो काट्ने तथा आवश्यक ठाउँमा टेवा पर्खाल निर्माण गरी सडक सञ्चालनमा ल्याउने काम भइरहेको विभागले जनाएको छ । उक्त खण्डमा बिहीबार बेलुकासम्म यातायात पुनः सञ्चालन गर्ने गरी काम भइरहेको छ ।
यस्तै, तातोपानी क्षेत्रमा भएको सडक कटान मर्मत गरी बुधबार बेलुकासम्म यातायात सञ्चालन गर्ने तयारी रहेको विभागको भनाइ छ । पोखरेबजार पुलको एप्रोच निर्माणसमेत बिहीबार बेलुकासम्म सम्पन्न गरी यातायात सञ्चालन गर्ने योजना छ ।
राघुघाट जलविद्युत् आयोजना रहेको स्थानमा भएको सडक कटानमा ब्याक कटिङ तथा टेवा पर्खाल निर्माण गरी बिहीबार बेलुकासम्म यातायात सञ्चालन गर्ने तयारी भइरहेको छ ।
त्यस्तै, मालढुंगा–बेनी–केराबारी सडकखण्डमा भित्तातर्फ ट्र्याक खोल्ने र टेवा पर्खाल निर्माण गर्ने काम भइरहेको सडक विभागले जनाएको छ । सडक मर्मत तथा पुनर्निर्माण पूरा भएपछि यस खण्डमा पनि यातायात सञ्चालन गर्ने विभागको तयारी छ ।