सम्भावित भारी वर्षासँगै बाढी र पहिरोको जोखिम बढेपछि सरकारले नदीको जलसतह तथा सम्भावित विपद्को अवस्था निरन्तर निगरानी गर्दै सर्वसाधारणलाई घण्टा–घण्टामा पूर्वसूचना अद्यावधिक गर्ने भएको छ।
आगामी शुक्रबारदेखि आइतबारसम्म देशका अधिकांश भू–भागमा भारी वर्षाको सम्भावना रहेकाले विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्यका लागि पूर्वसूचना प्रणालीलाई थप चुस्त बनाइएको हो।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीका अनुसार जल तथा मौसम विज्ञान विभाग र बाढी पूर्वानुमान महाशाखासँग समन्वय गरी नदीहरूको जलसतह र जोखिमको अवस्था ‘रियल टाइम’ मा निगरानी गरिनेछ।
सम्भावित बाढी खतराको तहमा कहिले पुग्न सक्छ र त्यसको प्रभाव कस्तो हुन सक्छ भन्ने प्राविधिक विश्लेषण गरी हरेक घण्टा सूचना अद्यावधिक गरिने उनले बताए। नागरिकको मोबाइलमा एसएमएसमार्फत आउने अलर्टलाई गम्भीरतापूर्वक लिन उनले आग्रह गरेका छन्।
प्राधिकरणले समुद्रमा विकसित हुने ठूलो आँधी प्रणाली तथा त्यसको दिशामा हुन सक्ने परिवर्तनलाई समेत प्रत्यक्ष निगरानी गरिरहेको जनाएको छ। उच्च हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावनालाई ध्यानमा राख्दै ‘रेड अलर्ट’ जारी गरिएको छ भने मध्यपहाडी तथा तल्लो तटीय क्षेत्रमा मध्यमदेखि भारी वर्षाको प्रक्षेपण गरिएको छ।
जोखिमयुक्त हिमाली तथा पहाडी क्षेत्रमा रहेका पर्यटकलाई तत्काल सुरक्षित स्थानतर्फ ओर्लिन आग्रह गरिएको छ। ट्राभल एजेन्सीहरूलाई नयाँ बुकिङ नगर्न तथा हेलिकप्टर उडानका लागि आवश्यक पूर्वतयारीमा सतर्क रहन पनि एडभाइजरी जारी गरिएको छ।
विपद्को जोखिम बढेमा राजमार्ग तथा सडकमा सवारी आवागमन पूर्ण रूपमा रोक्न सकिने प्राधिकरणले जनाएको छ। शुक्रबार र शनिबार अतिआवश्यक कामबाहेक यात्रा नगर्न यात्रुलाई तथा सेवा सञ्चालनमा सतर्कता अपनाउन यातायात व्यवसायीलाई आग्रह गर्ने तयारी गरिएको छ।
पहिरोका कारण सडक अवरुद्ध भए तत्काल खुलाउन देशका मुख्य राजमार्गहरूमा डोजर ‘स्ट्यान्डबाई’ राखिएको छ। वर्षाका कारण कृषि क्षेत्रमा क्षति हुन सक्ने भएकाले खेतमा पाकेको धानबाली र भण्डारण गरिएको अनाज जोगाउन किसानलाई आग्रह गरिएको छ।
त्यस्तै, बाढीका बेला भिडियो खिच्ने, टिकटक बनाउने वा सामाजिक सञ्जालमा सामग्री राख्ने नाममा ज्यान जोखिममा नपार्न सर्वसाधारणलाई प्राधिकरणले चेतावनी दिएको छ। बाढीले बगाएर ल्याएका दाउरा तथा अन्य सामग्री संकलन गर्न खोलामा पस्ने कामसमेत जोखिमपूर्ण हुने भएकाले त्यस्ता गतिविधि नगर्न आग्रह गरिएको छ।
सम्भावित विपद्लाई ध्यानमा राख्दै देशभरका सुरक्षा निकायलाई ‘हाई अलर्ट’ मा राखिएको छ। ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी सम्मिलित कमाण्ड पोस्टमार्फत मौसमको अवस्था निगरानी गर्नुका साथै आवश्यक प्रतिकार्यको तयारी तीव्र पारिएको प्राधिकरणले जनाएको छ।