नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पूर्वनिर्धारित अधिवेशनहरू वर्षाका कारण प्रभावित भएका छन्। देशका विभिन्न स्थानमा भइरहेको अविरल वर्षाका कारण १० असोज शनिबारका लागि तय गरिएका प्रदेशसभा र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनहरू प्रभावित भएका हुन्।
वर्षाका कारण केही जिल्लामा बाँकी रहेका पालिका अधिवेशनसमेत प्रभावित भएका छन्। प्राप्त सूचनाअनुसार ओखलढुंगा, भोजपुर, रामेछाप, काभ्रेपलाञ्चोक र कास्कीलगायत जिल्लामा शनिबारका लागि तय भएका अधिवेशनहरू स्थगित गरिएको छ।
ओखलढुंगाका जिल्ला निर्वाचन अधिकृत कृष्णप्रसाद दाहालले शनिबारका लागि निर्धारण गरिएका प्रदेशसभा क्षेत्रीय तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनका सम्पूर्ण कार्यक्रम हाललाई स्थगित गरिएको जानकारी दिएका छन्। स्थगित अधिवेशनको नयाँ मिति तथा आगामी कार्यक्रमबारे पछि निर्णय गरिने जनाइएको छ।
भोजपुरका जिल्ला निर्वाचन अधिकृत तिलक पाण्डेले सूचना जारी गर्दै भोजपुर नगरपालिका अधिवेशन तथा प्रदेशसभा र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको बताएका छन्।
यस्तै, रामेछापका निर्वाचन अधिकृत रौनिकराज अर्यालले शनिबारका लागि तय भएको अधिवेशन वर्षाका कारण स्थगित गरिएको जानकारी दिएका छन्। उनका अनुसार रामेछापमा १२ असोज बिहान ७ बजेदेखि क्षेत्रीय अधिवेशन सुरु गरिनेछ।
अविरल वर्षाका कारण काभ्रेपलाञ्चोक–२ मा प्रदेशसभा र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन पनि स्थगित भएको छ। क्षेत्रीय सभापति महेश खरेलका अनुसार मौसम प्रतिकूल भएपछि अधिवेशन स्थगित गरिएको हो। नयाँ मितिबारे अर्को सूचना जारी गरेर जानकारी दिइने उनले बताएका छन्।
कास्कीमा पनि क्षेत्रीय अधिवेशन स्थगित गरिएको छ। जिल्ला निर्वाचन अधिकृत निरञ्जन राजभण्डारीका अनुसार केन्द्रीय निर्वाचन समितिको प्रेस विज्ञप्तिका आधारमा अधिवेशन स्थगित गरिएको हो। कास्कीमा १२ असोजदेखि प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन सुरु गरिने उनले बताएका छन्।
केन्द्रीय निर्वाचन समितिले शुक्रबार विज्ञप्ति जारी गर्दै क्षेत्रीय अधिवेशनका निर्वाचन कार्यक्रम सम्बन्धित क्षेत्रको मौसमको अवस्था हेरेर सञ्चालन गर्न निर्देशन दिएको थियो। मौसम अनुकूल भएका क्षेत्रमा तोकिएकै मितिमा र मौसम प्रतिकूल भएका क्षेत्रमा १३ असोजभित्र अधिवेशन सम्पन्न गर्ने गरी आवश्यक व्यवस्था मिलाउन जिल्ला निर्वाचन अधिकृतहरूलाई निर्देशन दिइएको छ।
केन्द्रीय निर्वाचन समितिका अनुसार पालिका अधिवेशनअन्तर्गत ६६ जिल्लाका ६३० पालिकामा निर्वाचन सम्पन्न भइसकेको छ। नेपाली कांग्रेसले ३ असोजदेखि १५औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशन सुरु गरेको थियो।