बङ्गालको खाडीबाट विकसित न्यून चापीय प्रणालीका कारण असोज ९ देखि १२ गतेसम्म परेको अविरल वर्षा र त्यसपछिको विपद्मा परी देशभर २७ जनाको मृत्यु भएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढी, पहिरो र भारी वर्षाका कारण देशभर ५४२ वटा विपद्का घटना भएका छन् । घटनामा ४ जना बेपत्ता र ८ जना घाइते भएका छन् भने १ हजार ८२ परिवार प्रत्यक्ष प्रभावित भएका छन् ।
प्राधिकरणको तथ्याङ्कअनुसार सबैभन्दा ठूलो मानवीय क्षति पहिरोबाट भएको छ । देशभर ३०४ वटा पहिरोका घटनामा २० जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता र ७ जना घाइते भएका छन् ।
त्यस्तै, ८७ वटा बाढीका घटनामा ४ जनाको मृत्यु भएको छ । भारी वर्षासँग सम्बन्धित १५१ वटा घटनामा ३ जनाको मृत्यु र १ जना घाइते भएका छन् ।
हिमलुङ हिमालतर्फ क्याम्प खडा गर्न गएको २२ जना नेपालीको टोलीमध्ये हालसम्म ४ जनाको शव फेला परेको छ । बेपत्ताको खोजी तथा उद्धारका लागि हेलिकप्टरमार्फत हवाई खोजी जारी रहेको प्राधिकरणले जनाएको छ ।
२२७ घर पूर्ण रूपमा ध्वस्त
अविरल वर्षा, बाढी र पहिरोका कारण देशभर भौतिक संरचना तथा सडक सञ्जालमा समेत ठूलो क्षति पुगेको छ । प्राधिकरणका अनुसार २२७ वटा घर पूर्ण रूपमा ध्वस्त भएका छन् भने १४२ वटा घरमा आंशिक क्षति पुगेको छ ।
बाढीका कारण देशभर १० वटा पुलमा क्षति पुगेको छ । बागलुङमा कालीगण्डकी नदीको पुल बगाउँदा यातायात सम्पर्क विच्छेद हुनुका साथै विद्युत् र टेलिफोन सेवा प्रभावित भएको छ । म्याग्दीमा करिब ४०० मिटर सडक कटानमा परेको छ भने विभिन्न राजमार्गसमेत अवरुद्ध भएका छन् ।
कृषि तथा पशुपालन क्षेत्रमा पनि क्षति पुगेको छ । देशभर ३१ वटा गोठ भत्किएका छन् भने ११४ वटा पशुचौपाया मरेका छन् ।
२ हजारभन्दा बढी नागरिक सुरक्षित स्थानमा सारिए
विपद्को जोखिम रहेका क्षेत्रबाट करिब २ हजार जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्राधिकरणले जनाएको छ ।
उद्धार तथा राहतका लागि जिल्ला प्रशासन कार्यालय र नेपाल प्रहरीसँगै सशस्त्र प्रहरी बलका ४ हजार ३९५ तथा नेपाली सेनाका २६५ जना सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
म्याग्दी, जाजरकोट, हुम्ला, मुगु र दैलेखलगायत दुर्गम जिल्लामा बाढी तथा पहिरोमा फसेका र गम्भीर घाइते भएका व्यक्तिलाई हेलिकप्टरमार्फत उद्धार गरिएको थियो ।
पूर्वतयारीस्वरूप प्राधिकरणले जोखिम सम्भावित क्षेत्रका नागरिकलाई लक्षित गरी करिब ९ लाख ८० हजार एसएमएसमार्फत सूचना प्रवाह गरेको जनाएको छ । यस्तै, पर्यटकलाई लक्षित गरी करिब ९ हजार अंग्रेजी भाषाका सूचना पठाइएको प्राधिकरणले जनाएको छ ।