भोटेकोसी बाढीपीडितका लागि विदेशी राष्ट्र, संस्था तथा कम्पनीले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा २ करोड ४८ लाख ८५ हजार ४९८ अमेरिकी डलर सहयोग गरेका छन्।
असोज ८ गतेसम्म प्राप्त उक्त रकम नेपाली रुपैयाँमा करिब ३ अर्ब ८० करोड ४७ लाख बराबर रहेको अर्थ मन्त्रालयको विवरणमा उल्लेख छ। यसमा विदेशी मुलुक तथा संस्थाले उपलब्ध गराएका राहत सामग्रीको मूल्य समावेश गरिएको छैन।
गत भदौ १० गते रसुवाको भोटेकोसी नदीमा आएको बाढीले ठूलो जनधनको क्षति गरेपछि सरकारले बाढीपीडितको सहयोगका लागि उद्धार कोषमा रकम जम्मा गर्न अपिल गरेको थियो। त्यसपछि नेपाल तथा विदेशबाट कोषमा कुल १५ अर्ब ५४ करोड २० लाख १ हजार ३३९ रुपैयाँ जम्मा भएको थियो।
विदेशी सहयोगअन्तर्गत ३२ राष्ट्र, पाँच विदेशी संस्था र छ विदेशी कम्पनीले कोषमा रकम उपलब्ध गराएका छन्। सहयोग गर्ने मुलुकमा बेलायत, क्यानडा, अमेरिका, जर्मनी, चीन, न्युजिल्याण्ड, नर्वे, भुटान, स्विट्जरल्याण्ड, श्रीलंका, मलेसिया, दक्षिण कोरिया, अस्ट्रेलिया, आयरल्यान्ड, डेनमार्क, भियतनाम, थाइल्यान्ड, लाटभिया र चेक गणतन्त्रलगायत छन्।
सबैभन्दा बढी सहयोग गर्नेमा बेलायत रहेको छ। बेलायतले साझेदारमार्फत ६३ लाख ५० हजार अमेरिकी डलर, क्यानडाले ३६ लाख ५० हजार, अमेरिकाले ३६ लाख र जर्मनीले साझेदारमार्फत २० लाख अमेरिकी डलर कोषमा जम्मा गरेका छन्।
त्यस्तै, चीनले २१ लाख, न्युजिल्याण्डले साझेदारमार्फत १२ लाख २० हजार, नर्वेले ११ लाख ९३ हजार ८००, भुटानले ११ लाख ३० हजार, स्विट्जरल्याण्डले साझेदारमार्फत १० लाख र श्रीलंकाले १० लाख अमेरिकी डलर सहयोग गरेका छन्।
दक्षिण कोरियाले साझेदारमार्फत १० लाख, अस्ट्रेलियाले १० लाख, आयरल्यान्डले ५ लाख ४० हजार, डेनमार्कले ५ लाख १४ हजार ५००, भियतनामले ३ लाख, थाइल्यान्डले २ लाख १० हजार, लाटभियाले साझेदारमार्फत १ लाख ८ हजार र चेक गणतन्त्रले १ लाख ७ हजार ५०० अमेरिकी डलर उपलब्ध गराएका छन्।
यूएईले थप १ करोड अमेरिकी डलर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ, जुन प्राप्त हुने क्रममा रहेको छ। एसियाली विकास बैंक (एडीबी)ले ५० लाख अमेरिकी डलर तथा सीईआरएफले २५ लाख अमेरिकी डलर उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्।
यसैगरी, एनभिडियाले १ करोड अमेरिकी डलर, भिलले १ करोड रुपैयाँ, भुटानको ड्रुकएयरले ३२ लाख रुपैयाँ, दुसान समूहले ५० लाख अमेरिकी डलर र अर्बन केयर्सले ७० हजार अमेरिकी डलर सहयोग गरेका छन्।
नगद सहयोगसँगै भारत, लक्जेम्बर्ग, बंगलादेश, जापान, सिंगापुर, फ्रान्स, पाकिस्तान, म्यानमार, कतार, चीन र यूएईलगायत देशले बाढीपीडितका लागि राहत तथा अत्यावश्यक सामग्री पनि पठाएका छन्।
भारतले १३० टनभन्दा बढी राहत सामग्री पठाइसकेको छ भने खोज तथा उद्धारका लागि एक सयभन्दा बढी विज्ञको टोली नेपाल पठाएको थियो। २३० फिटको मोड्युलर स्टिल पुल निर्माणका लागि १६ ट्रक सामग्री नेपाल आइपुगेका छन् भने थप सातवटा बेलिब्रिजका सामग्री आउने क्रममा छन्।
चीनले ५० टनभन्दा बढी आपत्कालीन राहत सामग्री पठाएको छ। चीनबाट केही बेलिब्रिज प्राप्त भइसकेका छन् भने थप सामग्री आउने क्रममा छन्। पाकिस्तानबाट ८६ टन र यूएईबाट ८३ टन राहत सामग्री नेपाल आइसकेको विवरणमा उल्लेख छ।