राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि (बुद्धिप्रसाद) पन्तले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी सम्पर्कविहीन भएका नागरिकहरूको परिणाममुखी उद्धार गर्न सरकारसँग आग्रह गरेका छन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै सांसद पन्तले सरकारले आफ्नो सम्पूर्ण शक्ति परिचालन गर्दै आवश्यक परे मित्र राष्ट्रहरूसँग सहयोग, समन्वय र सहकार्य गरेर युद्धस्तरमा उद्धार कार्य अघि बढाउनुपर्ने बताए । उनले जनताले चाहेजस्तो परिणाममुखी उद्धार गरेर सरकारप्रति नागरिकको विश्वास कायम गर्न आग्रह गरे ।
बाढीका कारण पर्सा जिल्लाका समेत धेरै नागरिक सम्पर्कविहीन भएको उल्लेख गर्दै सांसद पन्तले उनीहरूका परिवारजन आफ्ना आफन्तको ‘सास वा लास’को आशामा सरकारको बाटो कुरेर बसेको बताए ।
उनले भने, “सम्पर्कविहीन भएका आफन्तजनहरूलाई यो सरकारप्रति आशा पनि छ । उहाँहरूले यो महाविपत्तिमा सरकारले देखाएको तदारुकता, सरकारले गरेका काम र प्रयासहरूलाई नजिकबाट नियाली रहनुभएको छ । त्यसैले उहाँहरूको सरकारप्रति भरोसा पनि छ ।”
स्रोत, साधन तथा विशेषज्ञ जनशक्तिको अभावका कारण अपेक्षाअनुसार उद्धारमा प्रगति हुन नसकेको उनले बताए । यद्यपि सरकारले गरेका प्रयासको मूल्यांकन भविष्यमा हुने उनको भनाइ थियो ।
उनले भने, “स्रोत, साधन र एक्स्पर्टिज जनशक्तिको अभावमा सोचे जस्तो परिणाम र युद्धस्तरको प्रगति भने पक्कै पनि देखिएका छैनन् । तर सरकारले गरेका यी काम र राम्रा प्रयासहरूको पक्कै पनि लेखाजोखा हुने नै छ र एक दिन इतिहासले पनि यसको मूल्यांकन गर्नेछ ।”
यसैबीच, त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा पर्साका इन्जिनियर दिलीप यादवसहित केही व्यक्ति फसेको जानकारी परिवारजनबाट प्राप्त भएको भन्दै सांसद पन्तले उनीहरूको शीघ्र उद्धारका लागि सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।