बाढी–पहिरो प्रभावित, विशेषगरी भोटेकोशी बाढीपीडितको सहयोगार्थ बैंकर्स एसोसिएसन वीरगञ्जले आयोजना गरेको रक्तदान कार्यक्रममा ९ महिलासहित १११ जनाले रक्तदान गरेका छन्।
एसोसिएसनका अध्यक्ष रोहिणी आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी (सीडीओ) भोला दहाल प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै सीडीओ दहालले रक्तदानजस्तो मानवीय कार्यले विपद्का बेला आवश्यक पर्ने रगतको अभाव पूर्ति गर्न महत्वपूर्ण योगदान पुर्याउने बताए। उनले संकटका समयमा हुने यस्ता सामाजिक तथा मानवीय गतिविधिले प्रभावित नागरिकलाई सहयोग पुग्ने उल्लेख गरे।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघ वीरगञ्जका अध्यक्ष हरि गौतम, नेपाल इनोभेटिभ सोसाइटी पर्साका अध्यक्ष कमल चौगाई, युवा नेता अरविन्द सिंहलगायत विशिष्ट अतिथिको उपस्थिति थियो। वीरगञ्जस्थित विभिन्न बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरूको समेत उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ।
रक्तदान कार्यक्रमका लागि रक्तसञ्चार केन्द्र वीरगञ्जका प्रमुख सौरभराज पाण्डेको प्राविधिक सहयोग रहेको थियो। केन्द्रको टोलीले रक्तदाताको स्वास्थ्य परीक्षण गर्नुका साथै रक्त संकलनको व्यवस्थापन गरेको थियो।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखाका कोषाध्यक्ष अभिलाष गुप्ताको समेत विशेष उपस्थिति रहेको थियो।
बैंक तथा वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीलाई सामाजिक उत्तरदायित्व र मानवीय सेवामा जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बैंकर्स एसोसिएसन वीरगञ्जले जनाएको छ। विपद्को समयमा आवश्यक रगतको आपूर्तिमा सहयोग पुर्याउनुका साथै रक्तदानप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्य पनि कार्यक्रमले पूरा गरेको आयोजकको भनाइ छ।