भोटेकोशी–त्रिशूली बाढीका कारण सम्पर्कविहीन भएका व्यक्तिहरूको खोजी तथा उद्धारमा सहयोग गर्न ४४ सदस्यीय दक्षिण कोरियाली उद्धार टोली बुधबार बिहान नेपाल आइपुगेको छ।
२१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजना बाढीका कारण सबैभन्दा धेरै मानिस सम्पर्कविहीन भएको आयोजना बनेको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अनुसार आयोजनामा ५७६ जना सम्पर्कविहीन छन् भने करिब ३०० जना सुरुङभित्र फसेको अनुमान गरिएको छ।
सम्पर्कविहीन हुनेमा ९ जना दक्षिण कोरियाली नागरिक समेत छन्। तीमध्ये ६ जना दुसान इनर्जिबिलिटी कम्पनी र तीन जना कोरिया साउथ–इस्ट पावर कम्पनीका कर्मचारी हुन्।
दक्षिण कोरियाको विदेश मन्त्रालय, कोरिया इन्टरनेसनल कोअपरेसन एजेन्सी (कोइका) तथा अग्नि नियन्त्रण निकायका अधिकारीसहितको कोरिया डिजास्टर रेस्पोन्स टिम बुधबार बिहान नेपाल आइपुगेको कोरियन टाइम्स ले जनाएको छ।
टोली दक्षिण कोरियाली वायुसेनाको केसी–३३० सिग्नस बहुउद्देश्यीय ट्यांकर तथा सैनिक यातायात विमानमार्फत काठमाडौं आइपुगेको हो।
दक्षिण कोरियाली विदेश मन्त्रालयका एक अधिकारीका अनुसार टोलीले नेपाली अधिकारी तथा नेपालमा परिचालित दक्षिण कोरियाली सरकारी आपतकालीन प्रतिक्रिया टोलीसँग समन्वय गरी खोज तथा उद्धार अभियान सञ्चालन गर्नेछ।
टोलीको नेपाल बसाइँ प्रारम्भिक रूपमा करिब १० दिनका लागि तय गरिएको छ। घटनास्थलको अवस्था हेरेर बसाइँ अवधि थप गर्न सकिने जनाइएको छ।
पाँच उद्धार कुकुरसहित आधुनिक उपकरण
कोरियाली उद्धार टोलीले पाँचवटा उद्धार कुकुर, उच्च क्षमताका ड्रोन, ध्वनि तथा भिडियोमार्फत भग्नावशेषमा पुरिएका मानिसको अवस्था पत्ता लगाउने उपकरण र थर्मल इमेजिङ डिटेक्टर लगायत आधुनिक उद्धार सामग्री नेपाल ल्याएको छ।
बेपत्ता व्यक्तिहरूको खोजीका लागि नेपालमा परिचालित आपत्कालीन प्रतिक्रिया टोलीले सम्बन्धित कम्पनीका प्राविधिक टोलीसँग सहकार्य गर्दै हेलिकप्टर, ड्रोन, उद्धार कुकुरलगायत उपलब्ध सबै माध्यम परिचालन गरिरहेको छ।
तर खोजी क्षेत्र ठूलो हुनुका साथै विकट भूगोल, बाढीले थुपारेको माटो तथा भग्नावशेषका कारण खोज तथा उद्धार कार्य चुनौतीपूर्ण बनेको छ।
धुन्चेमा पुगेर खोजी सुरु
कोरियाली उद्धारकर्मीहरू बाढीबाट अत्यधिक प्रभावित क्षेत्रमध्ये एक रसुवाको धुन्चे पुगेका छन्। उनीहरूले प्रभावित क्षेत्रमा खोजी अभियान सुरु गरेका छन्। धुन्चे माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको माथिल्लो बाँधबाट करिब दुई किलोमिटर टाढा पर्छ।
दक्षिण कोरियाली विदेश मन्त्रालयका अर्का अधिकारीका अनुसार उद्धार टोली धुन्चेमै रहेर नेपाली सेनासँग समन्वय गरी हेलिकप्टर, ड्रोन तथा स्थलमार्गबाट संयुक्त खोजी अभियान सञ्चालन गर्नेछ।
बेपत्ता व्यक्तिहरूको मोबाइल फोनको लोकेसन ट्र्याक गर्न सकिने सम्भावनाबारे पनि नेपाली अधिकारीसँग छलफल भइरहेको जनाइएको छ। बेपत्ता व्यक्तिहरू रहेको हुनसक्ने स्थान पहिचान गर्न नेपाली सेना, स्थानीय अधिकारी तथा घटनाबाट बाँचेकाहरूसँग समेत जानकारी लिइरहेको टोलीले जनाएको छ।
कम्पनीहरूले पनि छुट्टाछुट्टै खोजी गर्दै
दुसान इनर्जिबिलिटीले उच्च क्षमताका ड्रोन प्रयोग गर्नुका साथै हेलिकप्टरमार्फत खोजी गरिरहेको छ। कम्पनीले हवाई खोजीका क्रममा खिचिएका भिडियो फुटेजको विस्तृत विश्लेषण गर्ने तयारी गरेको छ।
त्यस्तै, कोरिया साउथ–इस्ट पावरले पनि ड्रोन तथा खोज तथा उद्धार कुकुर परिचालन गरिरहेको छ। घटनास्थलमा जारी उद्धार अभियानलाई थप सहयोग गर्न थप जनशक्ति पठाउने विषयमा समेत कम्पनीले विचार गरिरहेको अधिकारीहरूले बताएका छन्।
आफ्ना नागरिकसमेत बेपत्ता भएपछि दक्षिण कोरियाले माथिल्लो त्रिशूली–१ मा उद्धार टोली परिचालन गर्न यसअघि नै चासो देखाएको थियो। तर नेपालबाट अनुमति नपाएका कारण भारतीय र चिनियाँ प्राविधिकबाहेक अन्य मुलुकका प्राविधिक उद्धार कार्यमा सहभागी हुन पाएका थिएनन्।
अब भने दक्षिण कोरियाली टोलीले नेपाली अधिकारी तथा सुरक्षाकर्मीसँग समन्वय गर्दै माथिल्लो त्रिशूली–१ क्षेत्रमा बेपत्ता व्यक्तिहरूको खोजी तथा उद्धार अभियानमा प्रत्यक्ष सहयोग गर्ने भएको छ।