रसुवामा बुधबार आएको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या १६२ पुगेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार खोजी तथा उद्धारका क्रममा फेला परेका शवको आधारमा बिहीबार बिहानसम्म मृतकको संख्या १६२ पुगेको हो।
प्रहरी प्रधान कार्यालयका अनुसार रसुवामा २, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा ६४, गोरखामा २०, तनहुँमा ९, नवलपरासी पूर्वमा २६ र नवलपरासी पश्चिममा २ जनाको शव फेला परेको छ।
तिब्बत क्षेत्रबाट आएको बाढी रसुवामा भोटेकोशी हुँदै नुवाकोट र धादिङमा त्रिशूली नदी तथा चितवनमा नारायणी नदीका तटीय क्षेत्रमा फैलिएको थियो। बाढीले नदी तटीय क्षेत्रमा रहेका बस्ती, सडक, पुल तथा अन्य भौतिक संरचनामा ठूलो क्षति पुर्याएको छ।
रसुवा, नुवाकोट र धादिङमा सबैभन्दा ठूलो क्षति भएको छ। त्रिशूली नदीका पक्की तथा झोलुंगे पुलहरू बाढीले बगाउनुका साथै नदी किनारका कतिपय बस्ती नै बाढीमा बगेका छन्।
बुधबार बाढीमा फसेकाहरूको जीवितै उद्धारका लागि तीनवटै सुरक्षा निकाय परिचालन गरिएको थियो। बिहीबार बिहानदेखि भने बेपत्ताहरूको खोजी कार्यलाई थप तीव्रता दिइएको छ। प्रहरीका अनुसार खोजी तथा उद्धारका लागि विभिन्न जिल्लामा ३ हजार ३१८ जना प्रहरी परिचालन गरिएको छ।
नेपाल र तिब्बतमा करिब १,५०० बेपत्ता
यसैबीच, अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार नेपाल र चीनको तिब्बत क्षेत्रमा बाढीपछि करिब १,५०० जना बेपत्ता भएका छन्। नेपालमा मात्रै ८२६ जना बेपत्ता रहेको र तीमध्ये करिब ६०० जना विदेशी नागरिक रहेको प्रहरी तथा पर्यटन अधिकारीहरूले बताएका छन्।
बेपत्ता विदेशीमध्ये भारतका १७७, अमेरिकाका ६३, अष्ट्रेलियाका ३४, बेलायतका ३३ र क्यानडाका २५ जना रहेका छन्। तिब्बतको ग्यिरोङ काउन्टीमा थप ५५८ जना बेपत्ता रहेको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएको छ, जसमा २६० जना विदेशी नागरिक छन्।
रोयटर्सका अनुसार मृतकको संख्या अझै बढ्न सक्ने प्रहरीको अनुमान छ। प्रभावित क्षेत्रमा हेलिकोप्टरबाट उद्धार, खोजी तथा खाद्यान्न, टेन्टलगायत अत्यावश्यक सामग्री पुर्याउने काम भइरहेको छ।
घाइतेको काठमाडौंका विभिन्न अस्पतालमा उपचार
बाढीमा परी घाइते भएकाहरूको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। प्रधानमन्त्री बालेन शाहको सचिवालयका अनुसार काठमाडौंमा ४२ जनाको उपचार गरिएकोमा ९ जना डिस्चार्ज भएका छन् भने ३३ जना अझै उपचाररत छन्।
उपचाररत घाइतेमध्ये छाउनीस्थित सैनिक अस्पतालमा १ जना, वीर अस्पतालमा १ जना, ट्रमा सेन्टरमा ९ जना, शिक्षण अस्पतालमा १९ जना, नर्भिक अस्पतालमा ३ जना र मनमोहन अस्पताल, स्वयम्भूमा १ जना रहेका छन्।
प्रधानमन्त्री बालेन शाहले बिहीबार बिहानै बाढी प्रभावित क्षेत्र नुवाकोटको विदुरतर्फ स्थलगत निरीक्षणका लागि प्रस्थान गरेका छन्। उनीसँगै पूर्वाधार विकास मन्त्री सुनिल लम्साल पनि सहभागी छन्। प्रधानमन्त्री शाह र मन्त्री लम्साल बिहान साढे ९ बजे सडकमार्ग हुँदै विदुरतर्फ प्रस्थान गरेका हुन्।
बाढीबाट भएको क्षति, उद्धार तथा राहतको अवस्थाबारे स्थलगत जानकारी लिन प्रधानमन्त्री शाह प्रभावित क्षेत्रमा पुगेका हुन्।