तिब्बततर्फबाट अचानक आएको ठूलो बाढीले रसुवाको टिमुरे बजार क्षेत्रका बस्तीमा ठूलो क्षति पुर्याएको छ। बुधबार बिहान करिब ९ बजेतिर एक्कासि आएको बाढीले टिमुरे बजार क्षेत्रका बस्ती तथा संरचनामा क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।
रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार बिहान करिब सवा ९ बजेतिर अचानक ठूलो बाढी आएको हो। बाढीका कारण रसुवा र नुवाकोटको सीमामा रहेको बजार क्षेत्रसमेत प्रभावित भएको छ।
बाढीले पुर्याएको क्षतिको विस्तृत विवरण भने संकलन भइरहेको प्रहरीले जनाएको छ।
नुवाकोटमा पनि बाढीको प्रभाव
तिब्बततर्फबाट आएको बाढी रसुवाबाट नुवाकोट हुँदै धादिङ, गोरखा र चितवनतर्फ बढेको बताइएको छ।
जिल्ला प्रशासन कार्यालय नुवाकोटका सूचना अधिकारी रूपेश प्रसाद नेपालले बाढी नुवाकोटसम्म आइपुगेको जानकारी दिए। बाढीबाट भएको क्षतिको यकिन विवरण अहिले नै भन्न सक्ने अवस्था नरहेको उनले बताए।
प्रशासनले नदी तथा खोलाको तटीय क्षेत्रमा रहेका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। सम्भावित उद्धार तथा राहतका लागि तयारी गर्न जिल्ला समन्वय समितिको बैठकसमेत बसिरहेको जनाइएको छ।
उद्धारका लागि हेलिकप्टर तयारी अवस्थामा
बाढीको अवस्था गम्भीर बनेपछि प्रधानमन्त्री कार्यालयले सबै हेलिकप्टर कम्पनीलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ। प्रधानमन्त्री बालेन शाहको सचिवालयले आवश्यक परेको अवस्थामा उद्धार तथा राहतका लागि हेलिकप्टर परिचालन गर्न तयारी अवस्थामा रहन निर्देशन दिइएको जनाएको छ।
यसैबीच, नेपाली सेनाका दुईवटा हेलिकप्टर बाढी प्रभावित क्षेत्र रसुवातर्फ उडेका छन्। नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार दुईवटा हेलिकप्टर प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यका लागि पठाइएको हो।
थप एउटा हेलिकप्टरसमेत पठाउने तयारी भइरहेको उनले जानकारी दिए। स्थलमार्गबाट पनि नेपाली सेनाको टोली घटनास्थलतर्फ परिचालन गरिएको छ।
बाढीका कारण भएको मानवीय तथा भौतिक क्षतिको थप विवरण आउन बाँकी रहेको अधिकारीहरूले बताएका छन्।