भोटेकोशी नदीमा विनाशकारी बाढी ल्याउने हिमपहिरो भदौ १० गते बिहान ८ बजेर ३७ मिनेट १६ सेकेन्डमा झरेको पत्ता लागेको छ। नेपाली तथा विदेशी वैज्ञानिकको संयुक्त अध्ययनले हिमपहिरोको समय, स्थान र त्यसपछि आएको बाढीको गति पत्ता लगाएको हो।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारी र भूकम्पविद् शिव सुवेदीको नेतृत्वमा गरिएको अध्ययनमा नेपाल र चीनका विभिन्न स्थानमा जडान गरिएका ४५ वटा भूकम्प मापक यन्त्रबाट प्राप्त उच्च फ्रिक्वेन्सीका भूकम्पीय तरङ्गको विश्लेषण गरिएको थियो।
अध्ययनअनुसार हिमपहिरो जानुभन्दा करिब १७ मिनेटअघि सोही क्षेत्रमा २.५ म्याग्नेच्युडको भूकम्प गएको थियो। त्यसपछि हिमपहिरो खस्दा उत्पन्न भएको भूकम्पीय संकेतलाई विभिन्न स्थानका सेस्मोमिटरले रेकर्ड गरेका थिए।
अध्ययनले हिमपहिरोपछि आएको बाढीको बहाव निकै तीव्र रहेको देखाएको छ। पहिलो २५ किलोमिटर दूरीमा बाढी प्रतिघण्टा १६३ किलोमिटरसम्मको गतिमा बगेको पाइएको छ। नदीको भिरालोपन कम हुँदै जाँदा बाढीको गति क्रमशः घटेर तलतर्फ प्रतिघण्टा ३३ किलोमिटरसम्म पुगेको अध्ययनमा उल्लेख छ।
भूकम्पीय तथ्याङ्कले हिमपहिरो खसेलगत्तैको पहिलो १५ मिनेटमा अत्यधिक उच्च ऊर्जा र कम्पन उत्पन्न भएको देखाएको छ। त्यसपछि बाढीको बहावसँगै त्रिशूली नदी किनारमा समेत घण्टौँसम्म निरन्तर कम्पन रेकर्ड भएको वैज्ञानिकहरूले बताएका छन्।
यो घटनाबाट उत्पन्न भूकम्पीय संकेत नेपाल र चीनमा मात्र नभई विश्वका विभिन्न स्थानमा रहेका भूकम्प मापक यन्त्रले समेत रेकर्ड गरेका थिए। अध्ययनले यस्ता उच्च हिमाली क्षेत्रमा हुने आकस्मिक हिमपहिरो तथा बाढीको जोखिम पहिचान गर्न भूकम्पीय निगरानी प्रणाली प्रभावकारी माध्यम बन्न सक्ने देखाएको छ।
वैज्ञानिकहरूले भविष्यमा यस्ता विपद्बाट हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरणका लागि उच्च हिमाली क्षेत्रमा प्रभावकारी भूकम्पीय निगरानी नेटवर्क र अत्याधुनिक पूर्वसूचना प्रणाली विकास गर्नुपर्नेमा जोड दिएका छन्।