प्रधानमन्त्री बालेन शाहले संघ, प्रदेश र स्थानीय सरकारबीचको आपसी समन्वयमा भदौ १० गतेयता विपद् व्यवस्थापनको काम निरन्तर भइरहेको बताएका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१औँ बैठकमा प्रधानमन्त्री शाहले सरकार कुनै पनि सम्झौता नगरी विपद् व्यवस्थापनमा निरन्तर खटिरहेको बताएका हुन्।
बैठकमा गण्डकी, बागमती, मधेश र कोशी प्रदेशका मुख्यमन्त्रीहरूको समेत सहभागिता थियो।
मुख्यमन्त्रीहरूलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले उपलब्ध स्रोतसाधन र जनशक्ति परिचालन गरेर विपद् व्यवस्थापनको काम चाँडोभन्दा चाँडो सम्पन्न गर्ने प्रयास भइरहेको बताए। उनले विपद् व्यवस्थापनबारे ढुक्क रहन मुख्यमन्त्रीहरूलाई आग्रह गरे।
प्रधानमन्त्री शाहले भोटेकोशी–त्रिशूली, गण्डकीलगायत विभिन्न क्षेत्रमा आएको बाढीपहिरोबाट भएको क्षतिको अध्ययन गरी त्यसको व्यवस्थापनमा सरकार जुटिरहेको जानकारी दिए।
उनका अनुसार विपद् जोखिम न्यूनीकरणका लागि सरकारले पूर्वसूचना प्रणालीलाई थप सुदृढ बनाउने तयारी गरेको छ। हिमपहिरोको जोखिम न्यूनीकरणका लागि समेत आवश्यक काम अघि बढाइरहेको उनले बताए।
विपद् व्यवस्थापनका क्रममा आफ्नो ज्यानसमेत जोखिममा राखेर खटिएका राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, स्वयंसेवक तथा राजनीतिक दलका प्रतिनिधिलगायत सबैप्रति प्रधानमन्त्री शाहले कृतज्ञता व्यक्त गरेका छन्।