नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आजदेखि नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि चुनावी प्रक्रिया सुरु हुँदैछ। काठमाडौंको खुलामञ्चमा हिजो महाधिवेशन उद्घाटन भएसँगै आज बिहान ९ बजेदेखि बन्दसत्र सुरु हुने भएको हो।
बन्दसत्र खुलामञ्चमै आयोजना हुँदैछ। बन्दसत्रमा सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले राजनीतिक तथा समसामयिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका रहेको छ।
यसैबीच कांग्रेस निर्वाचन समितिले नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। कार्यतालिकाअनुसार आज बेलुका ५ बजे मतदाता नामावली प्रकाशन हुनेछ। त्यसपछि ५ बजेदेखि ६ः३० बजेसम्म मतदाता नामावलीउपर दाबीविरोधको समय तोकिएको छ। बेलुका ८ः३० बजे मतदाताको अन्तिम नामावली प्रकाशन गरिनेछ।
भोलि उम्मेदवारी दर्ता
निर्वाचन कार्यतालिकाअनुसार भोलि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता हुनेछ। दिउँसो ४ः३० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ भने ४ः३० देखि ५ः३० बजेसम्म उम्मेदवारी दरखास्तउपर दाबीविरोध गर्न सकिनेछ।
भोलि बेलुका ७ बजे उम्मेदवारको दोस्रो नामावली प्रकाशन गर्ने कार्यतालिका छ।
त्यस्तै, असोज २१ गते बिहान ९ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिनेछ। बिहान १० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ। त्यसपछि दिनभर उम्मेदवारले प्रचारप्रसार गर्न पाउनेछन्।
असोज २२ गते मतदान
कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि असोज २२ गते मतदान हुनेछ। निर्वाचन समितिका अनुसार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदानको समय तोकिएको छ।
यससँगै कांग्रेसको १५औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि उम्मेदवारीदेखि मतदानसम्मको प्रक्रिया औपचारिक रूपमा अघि बढ्ने भएको छ।