नेपाली कांग्रेसले आगामी निर्वाचनमा निर्वाचनअघि अन्य दलसँग गठबन्धन नगर्ने स्पष्ट नीति अघि सारेको छ। काठमाडौंमा जारी कांग्रेसको १५औँ महाधिवेशनमा सभापति गगन थापाले प्रस्तुत गरेको राजनीतिक प्रस्तावमा कांग्रेस आफ्नै चुनाव चिह्न ‘रुख’मा आफ्नै उम्मेदवार र कार्यक्रमसहित चुनाव लड्ने प्रतिबद्धता जनाइएको हो।
राजनीतिक प्रस्तावमा विगतका निर्वाचनमा अन्य दलसँग गठबन्धन गर्दा पार्टीको पहिचान र जनसम्बन्ध कमजोर भएको निष्कर्ष प्रस्तुत गर्दै आगामी दिनमा आफ्नै संगठन, नीति, कार्यक्रम र उम्मेदवारका आधारमा निर्वाचनमा प्रतिस्पर्धा गर्ने उल्लेख गरिएको छ।
प्रस्तावमा ‘निर्वाचनपूर्व गठबन्धन नगरी रुख चिह्नमा आफ्नै उम्मेदवार र कार्यक्रमसहित प्रतिस्पर्धा गर्ने’ प्रतिबद्धता व्यक्त गरिएको छ।
कांग्रेसले राजनीतिक मर्यादासम्बन्धी विषयमा पनि निर्वाचनपूर्व गठबन्धन नगर्ने र मतको अंकगणितका आधारमा आफ्नो राजनीतिक पहिचान निर्धारण नगर्ने नीति अघि सारेको छ। आफ्नै चुनाव चिह्न, कार्यक्रम र उम्मेदवारसहित प्रतिस्पर्धा गर्दै निर्वाचनमा जित्न योग्य बन्ने प्रस्तावमा उल्लेख छ।
सत्ताका लागि भागबन्डा नगर्ने
कांग्रेसले अन्य राजनीतिक दलसँग राष्ट्रिय मुद्दामा आवश्यक सहकार्य गर्ने तर त्यस्तो सहकार्यलाई सत्ता लेनदेनमा परिणत नगर्ने नीति अघि सारेको छ।
संविधानको रक्षा, विपद् व्यवस्थापन, राष्ट्रिय सुरक्षा, न्याय तथा सार्वजनिक हितका विषयमा अन्य दलसँग सहकार्य गर्न सकिने प्रस्तावमा उल्लेख छ। तर यस्तो सहकार्यलाई सत्ता वा राज्यका संस्थामा भागबन्डाको माध्यम बनाउन नहुने कांग्रेसको धारणा छ।
पद, प्रभाव र सुविधाको लेनदेनलाई राजनीतिक सहकार्यको आधार नबनाउने प्रतिबद्धता पनि प्रस्तावमा व्यक्त गरिएको छ।
‘नो भोट’ र विदेशबाट मतदानको प्रस्ताव
कांग्रेसले निर्वाचन प्रणाली सुधारका लागि ‘राइट टु रिजेक्ट’ अर्थात् ‘नो भोट’को विकल्पबारे सार्वजनिक बहस अघि बढाउने प्रस्ताव गरेको छ। यसअन्तर्गत मतदाताले कुनै पनि उम्मेदवार उपयुक्त नलागेमा कसैलाई पनि मत नदिने विकल्पको व्यवस्था गर्नुपर्ने विषय बहसमा ल्याउने उल्लेख छ।
त्यस्तै, स्वच्छ र कम खर्चिलो निर्वाचनका लागि सुधार अघि बढाउने तथा विदेशमा रहेका वा स्थायी निर्वाचन क्षेत्रभन्दा बाहिर रहेका नेपाली नागरिकलाई मतदानमा सहभागी गराउने विषयसमेत प्रस्तावमा समेटिएको छ।
कांग्रेसले घुम्ती आरक्षित निर्वाचन क्षेत्र तथा प्रतिनिधित्व प्रणालीमा सुधारका विषयलाई समेत सार्वजनिक बहसमा लैजाने प्रस्ताव गरेको छ।