सङ्घीय संसद् प्रतिनिधि सभाको सोमबार, साउन २५ गते बस्ने बैठकमा चार वटा विधेयक प्रस्तुत हुने भएका छन्। बैठकमा दुई मन्त्रीसँग सांसदको मन्त्रालयगत प्रश्नोत्तरसमेत हुने सम्भावित कार्यसूची तय गरिएको छ।
दिउँसो १ बजे बस्ने बैठकको सुरुवातमा मन्त्रालयगत प्रश्नोत्तरको कार्यक्रम राखिएको संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ। परराष्ट्र मन्त्रालय तथा युवा, श्रम तथा रोजगार मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिनेछन्।
बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने तथा विधेयक प्रस्तुत गर्ने कार्यसूची छ।
त्यसैगरी, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘मेलमिलाप सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३’ र युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले ‘बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३’ प्रस्तुत गर्नेछन्।
प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट मन्त्री गौतमले थप दुई प्रस्तावसमेत प्रस्तुत गर्ने कार्यसूची रहेको छ। जसअनुसार ‘संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुनेछ।
त्यस्तै, ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ माथि छलफल गरी पारित गर्न प्रस्तावसमेत मन्त्री गौतमले प्रधानमन्त्रीको तर्फबाट प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ।