फ्रान्समा यस वर्ष फैलिएको डढेलोले दोस्रो विश्वयुद्धयताकै सबैभन्दा ठूलो क्षति पुर्याएपछि आगलागीको कारण र जिम्मेवार व्यक्तिमाथि बहस चर्किएको छ। यस गर्मीयाममा मात्रै डढेलोले ३ लाख एकडभन्दा बढी क्षेत्र जलेर नष्ट भएको बताइएको छ।
जलवायु परिवर्तनका कारण तापक्रम बढ्दै जानु र लामो समयको खडेरीले आगो फैलिन अनुकूल अवस्था सिर्जना गरेको विज्ञहरूको भनाइ छ। तर फ्रान्समा हुने करिब ९० प्रतिशत वन डढेलो मानव गतिविधिबाट सुरु हुने तथ्यांकका कारण सरकारले मानवीय लापरबाही तथा नियोजित आगजनीलाई समेत अनुसन्धानको केन्द्रमा राखेको छ।
फ्रान्सको गृह मन्त्रालयका अनुसार डढेलो जानाजान वा दुर्घटनावश सुरु गरेको आरोपमा ४२० जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा १६६ जना नाबालिग समेत छन्।
दक्षिण–पूर्वी भार क्षेत्रमा गत महिना पाँच दिनभित्र १० स्थानमा जानाजान आगो लगाएको आरोपमा २३ वर्षीय एक युवक पक्राउ परेका छन्। दोषी ठहरिए उनलाई १५ वर्षसम्म जेल र १ लाख ५० हजार युरो जरिवाना हुन सक्नेछ।
यस्तै, भोज क्षेत्रमा तीनवटा डढेलो लगाएको आरोपमा एक व्यक्तिलाई तीन वर्षको जेल सजाय सुनाइएको छ। केही घटनामा भने अत्यधिक कडा कारबाही गरिएको भन्दै आलोचना पनि भइरहेको छ। चुरोटको ठुटा फालेको आरोपमा एक घरबारविहीन व्यक्ति र अटिजम भएका एक व्यक्तिलाई समेत जेल सजाय दिइएको रिपोर्ट सार्वजनिक भएका छन्।
आगलागीसम्बन्धी मुद्दामा संलग्न वकिल मुरियल गेस्टासले पक्राउको संख्या अत्यधिक भएको महसुस भएको बताएकी छन्। उनको भनाइमा पक्राउ परेकामध्ये धेरैमाथि अन्ततः दोष प्रमाणित नहुन सक्ने सम्भावना छ।
अधिकांश डढेलो दुर्घटनावश
आगलागी अनुसन्धान अधिकारी एरिक डुफायेका अनुसार आगो कसरी सुरु भयो भन्ने पत्ता लगाउन निकै कठिन हुन्छ। खडेरीका बेला सानो झिल्को वा लाइटरको आगोले समेत ठूलो डढेलो निम्त्याउन सक्छ।
उनका अनुसार आगो निभेपछि अनुसन्धानकर्ताले जलेको क्षेत्रको सीमा पहिचान गरी आगो सुरु भएको स्थानसम्म पुग्ने प्रयास गर्छन्। हावाको दिशा स्थिर भए आगोले जलेको क्षेत्र प्रायः ‘V’ आकारको देखिने भएकाले त्यसबाट आगोको सुरुवाती बिन्दु पत्ता लगाउन सहयोग पुग्छ।
विशेषज्ञहरूका अनुसार जानाजान आगजनी हुने घटना तुलनात्मक रूपमा कम छन्। निर्माण कार्यका क्रममा निस्कने झिल्का, खराब विद्युतीय उपकरण, चुरोटका ठुटा र बारबेक्युबाट निस्किएको आगोजस्ता कारणले अधिकांश डढेलो लाग्ने गरेको बताइन्छ।
अनुसन्धान अधिकारी डुफायेका अनुसार चुरोटबाट आगो लाग्नका लागि सामान्यतया ३० डिग्री सेल्सियसभन्दा बढी तापक्रम, ३० प्रतिशतभन्दा कम आर्द्रता र पर्याप्त हावाजस्ता अवस्था अनुकूल मानिन्छन्। अहिलेको खडेरीका कारण यस्तो अवस्थामा आगो निकै तीव्र गतिमा फैलिन सक्छ।
आगो लगाउने मानिस पनि तीन प्रकारका
पेरिसस्थित विश्वविद्यालयका मनोचिकित्सा तथा व्यसनसम्बन्धी प्राध्यापक मिचेल लेजोयुक्सका अनुसार आगो लगाउने मानिसलाई मुख्यतः तीन समूहमा राख्न सकिन्छ—लापरबाही गर्ने, आगोबाट आर्थिक वा अन्य लाभ लिन खोज्ने र आगो लगाउनै मन पराउने व्यक्ति।
उनका अनुसार ‘पाइरोमेनिया’ भने दुर्लभ मानसिक विकार हो र आगजनीका घटनामा यसको हिस्सा निकै कम हुन्छ।
केही घटनामा आगो निभाउने जिम्मेवारीमा रहेका व्यक्तिमाथि समेत आगजनीको आरोप लागेको छ। वकिल गेस्टासका अनुसार केही स्वयंसेवी अग्निनियन्त्रकले आफूलाई ‘उद्धारकर्ता’का रूपमा देखाउन आगो लगाएको हुन सक्ने आशंका गरिएको छ भने कतिपय अवस्थामा आर्थिक लाभ पनि सम्भावित कारण हुन सक्छ।
म्याक्रोंको जोड–‘अब नयाँ किसिमको जंगल बनाउनुपर्छ’
फ्रान्समा डढेलोको क्षतिसँगै सरकारको तयारीमाथि पनि प्रश्न उठिरहेको छ। राष्ट्रपति इम्यानुएल म्याक्रोंले भने अहिले आलोचनाभन्दा पुनर्निर्माण र भविष्यको तयारीमा ध्यान दिनुपर्ने बताएका छन्।
उनले जलवायु परिवर्तनका कारण सिर्जित नयाँ परिस्थितिअनुकूल ‘फरक किसिमको जंगल पुनःरोपण र निर्माण गर्नुपर्ने’ बताएका छन्।
डढेलोले वातावरणमा मात्रै नभई सयौँ घर, पर्यटन, स्थानीय व्यवसाय र वायुको गुणस्तरमा समेत ठूलो असर पारेको छ। आगामी दिनमा फेरि गर्मीको लहर आउने पूर्वानुमान भइरहेकाले फ्रान्समा डढेलोको जोखिम अझै कायम रहेको छ।