फ्रान्स र स्पेनमा भीषण डढेलो नियन्त्रणबाहिर जाँदा तीन लाखभन्दा बढी मानिस घर छाड्न बाध्य भएका छन्। तीव्र हावा र अत्यधिक गर्मीका कारण आगो नियन्त्रणमा लिन दमकलकर्मीलाई कठिनाइ भइरहेको अधिकारीहरूले बताएका छन्।
फ्रान्सको दक्षिण–पश्चिम क्षेत्रमा फैलिएको डढेलो बोरदो (Bordeaux) सहरतर्फ बढिरहेको छ। दमकल अधिकारी निकोलस ब्राजका अनुसार आगोले आफ्नै हावाको बहाव सिर्जना गरिरहेको छ, जसका कारण आगो अनियन्त्रित र अप्रत्याशित रूपमा फैलिरहेको छ। उनले आगो अझै नियन्त्रणमा आउन निकै समय लाग्ने बताएका छन्।
फ्रान्समा शनिबार थप ५५ हजार जनालाई सुरक्षित स्थानमा सारिएसँगै गिरोन्द (Gironde) र लान्द (Landes) क्षेत्रमा विस्थापितको संख्या करिब २ लाख ५० हजार पुगेको छ। परिस्थितिलाई नियन्त्रणमा लिन फ्रान्स सरकारले सेना परिचालन गरेको छ भने जंगल सफा गर्ने र आगो फैलिन नदिने अवरोध निर्माणको काम पनि भइरहेको छ।
राष्ट्रपति इम्यानुएल म्याक्रोंले प्रभावित क्षेत्र पुनर्निर्माण गर्ने प्रतिबद्धता जनाउँदै आवश्यक समयसम्म सरकार नागरिकसँग रहने बताएका छन्।
उता स्पेनमा पनि डढेलोका कारण राजधानी म्याड्रिड आसपासको अवस्था गम्भीर बनेपछि आपतकाल घोषणा गरिएको छ। केही स्थानमा मौसममा सुधार आए पनि आगो पूर्ण रूपमा नियन्त्रणमा आएको छैन।
भ्यालेन्सिया क्षेत्रमा डढेलोमा परी करिब ७० वर्षीय एक पुरुषको मृत्यु भएको पुष्टि भएको छ। दमकलकर्मीले आगो निभाउने क्रममा उनको शव कारभित्र फेला पारेका थिए।
स्पेनको गृह मन्त्रालयका अनुसार म्याड्रिड र आविला (Ávila) क्षेत्रबाट हालसम्म करिब ६० हजार जनालाई सुरक्षित स्थानमा सारिएको छ भने २८ हजारभन्दा बढी मानिसलाई घरभित्रै बस्न निर्देशन दिइएको छ। टोलेडो नजिकका आठ नगरपालिकाका बासिन्दालाई पनि खाली गराइएको छ।
स्पेनका प्रधानमन्त्री पेड्रो साञ्चेजले आगामी दिन अझ चुनौतीपूर्ण हुने चेतावनी दिएका छन्। उनका अनुसार यस वर्ष मात्रै स्पेनमा करिब १ लाख ३० हजार हेक्टर जमिन डढिसकेको छ, जुन पछिल्लो दशकको औसतभन्दा बढी हो।
फ्रान्समा पनि सन् २०२६ को सुरुदेखि हालसम्म करिब ९८ हजार हेक्टर क्षेत्र डढिसकेको छ।
युरोपेली संघले फ्रान्स र स्पेनलाई सहयोगस्वरूप पानी बोक्ने विमान, हेलिकप्टर तथा अग्निनियन्त्रण टोली परिचालन गरेको छ। युरोपेली संघकी संकट व्यवस्थापन आयुक्त हद्जा लाहबिबले यस वर्ष युरोपमा डढेलोबाट हुने क्षति अघिल्ला वर्षहरूको रेकर्डभन्दा पनि बढी हुन सक्ने चेतावनी दिएकी छन्।
यसैबीच इटालीको सिसिली द्वीपमा पनि ३५० भन्दा बढी स्थानमा डढेलो लागेको छ भने स्कटल्यान्डको केर्नगोर्म्स राष्ट्रिय निकुञ्जमा १० दिनदेखि लागेको आगो निभाउने प्रयास जारी छ।