युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देशका सेना प्रमुख (कमाण्डर–इन–चिफ) ओलेक्सान्दर सिरस्कीलाई पदबाट हटाएका छन्। उनको स्थानमा ४३ वर्षीय अनुभवी सैनिक कमाण्डर मिखाइलो ड्रापाटीलाई नियुक्त गरिएको छ।
यो निर्णय लोकप्रिय रक्षामन्त्री मिखाइलो फेदोरोभलाई पदबाट हटाएको केही दिनपछि आएको हो। फेदोरोभको बर्खास्तीपछि देशभर प्रदर्शन भएका थिए। प्रारम्भमा फेदोरोभ र सिरस्कीबीचको मतभेदका कारण यस्तो निर्णय भएको चर्चा चले पनि पछि त्यसको पुष्टि भएको बताइएको छ।
३५ वर्षीय फेदोरोभलाई रक्षा मन्त्रालयमा सुधार ल्याउने, सेनालाई आधुनिक बनाउने तथा भ्रष्टाचार नियन्त्रणमा भूमिका खेलेको भन्दै व्यापक प्रशंसा गरिएको थियो। यता ६० वर्षीय सिरस्कीलाई भने पुरानो सोभियत शैलीको नेतृत्व अपनाउने र सेनामा आवश्यक सुधार गर्न अनिच्छुक रहेको आरोप लाग्दै आएको थियो।
पदमुक्त भएपछि टेलिग्राममार्फत प्रतिक्रिया दिँदै सिरस्कीले आफूले कठिन रक्षात्मक अवस्थाबाट सेनालाई आक्रामक अभियानसम्म पुर्याएको दाबी गरे। उनले आफ्नो उत्तराधिकारीलाई अग्रसर अवस्थामा रहेको सेना हस्तान्तरण गरेको उल्लेख गर्दै सैन्य अभियान सफल हुने विश्वास व्यक्त गरेका छन्।
नवनियुक्त सेना प्रमुख ड्रापाटीले जिम्मेवारी इमान्दारीपूर्वक पूरा गर्ने प्रतिबद्धता जनाउँदै देशको रक्षा गरिरहेका सैनिकप्रति सम्मानका साथ काम गर्ने बताएका छन्। उनले सिरस्कीको योगदानको पनि प्रशंसा गरेका छन्।
राष्ट्रपति जेलेन्स्कीले सामाजिक सञ्जालमार्फत सिरस्कीलाई सन् २०२२ मा रुसको पूर्ण आक्रमण सुरु हुँदा राजधानी किभको सफल प्रतिरक्षामा खेलेको भूमिकाका लागि धन्यवाद दिएका छन्।
जेलेन्स्कीले पूर्व रक्षामन्त्री फेदोरोभलाई सरकारभित्रै अर्को महत्वपूर्ण जिम्मेवारी प्रस्ताव गरिएको जानकारी दिए पनि उनले उक्त प्रस्ताव स्वीकार गरे वा नगरेको खुलाइएको छैन।
यसैबीच, फेदोरोभले ड्रापाटीको नियुक्तिलाई स्वागत गर्दै यसलाई "स्वतन्त्रता र न्यायका लागि भइरहेको संघर्षमा नयाँ आशा" को रूपमा व्याख्या गरेका छन्। उनले सेनामा थप तीव्र सुधार र विगतका कमजोरी सच्याउँदै अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका छन्।
फेदोरोभको बर्खास्तीपछि लगातार छ दिनसम्म प्रदर्शन भएको थियो। त्यसपछि बढ्दो राजनीतिक दबाबका बीच जेलेन्स्कीले सिरस्कीलाई हटाएर युवा र सुधारमुखी छवि भएका ड्रापाटीलाई सेना प्रमुख नियुक्त गरेका हुन्।
हाल कार्यवाहक रक्षामन्त्री येभहेनी ख्माराले जिम्मेवारी सम्हालिरहेका छन्। राष्ट्रपति जेलेन्स्कीले ख्मारा र ड्रापाटीलाई सैन्य संरचना सुधार, हतियार आपूर्ति र ड्रोन प्रविधिलगायत विषय समेटिएको नयाँ रक्षा रणनीति तयार गर्न निर्देशन दिएका छन्।