अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी तनावका बीच आवश्यक परे स्थल (ग्राउन्ड) आक्रमण हुन सक्ने संकेत दिएका छन्। मंगलबार फक्स न्युजसँगको अन्तर्वार्तामा उनले आफू स्थल युद्ध चाहँदैनन् भन्दै परिस्थितिअनुसार त्यसको आवश्यकता पर्न सक्ने बताएका हुन्।
"म त्यो गर्न चाहन्नँ," ट्रम्पले स्थल युद्धबारे प्रश्नको जवाफ दिँदै भने, "तर कहिलेकाहीँ स्थल अभियान आवश्यक पर्छ। हाम्रो सट्टा त्यस्तो अभियान सञ्चालन गर्ने अरू पनि हुन सक्छन्।" उनले भनेका "अरू" को हुन् भन्नेबारे भने कुनै स्पष्ट जानकारी दिएनन्।
सुरक्षा विश्लेषकहरूका अनुसार यदि स्थल आक्रमण गरियो भने इरानको प्रमुख तेल निर्यात केन्द्र खार्ग टापु वा फारसी खाडी किनारका दक्षिणी क्षेत्र सम्भावित लक्ष्य हुन सक्छन्। तर त्यस्ता क्षेत्रमा सैनिक उतार्ने, उनीहरूको उपस्थिति कायम राख्ने र आवश्यक आपूर्ति पुर्याउने कार्य अत्यन्त जटिल तथा जोखिमपूर्ण हुने उनीहरूको भनाइ छ।
विशेषज्ञहरूका अनुसार समुद्री मार्गबाट हुने आक्रमणमा अवतरण क्षेत्रहरूमा बारुदी सुरुङ बिछ्याउने, अवरोध खडा गर्ने तथा ड्रोन, लुटरिङ म्युनिसन, तोपखाना, मोर्टार र हल्का हतियार प्रयोग गरी आक्रमणकारी सेनामाथि ठूलो क्षति पुर्याउन सकिने भएकाले यस्तो अभियान चुनौतीपूर्ण हुन्छ। साथै, स्थलमा पुगेका सैनिकलाई हतियार, खाद्यान्न, पानी र स्वास्थ्य सामग्री आपूर्ति गर्ने जहाजहरू पनि प्रतिरक्षात्मक आक्रमणको जोखिममा रहने बताइएको छ।
अमेरिकी सेनाका क्याप्टेन ड्यानियल एस. होजेस्टिनले हालको युद्धमा तटीय क्षेत्रमा हुने लडाइँको सन्तुलन रक्षात्मक पक्षको पक्षमा गएको उल्लेख गरेका छन्।
यसैबीच, अमेरिकी रक्षा विभागका अनुसार २ हजारभन्दा बढी सैनिक रहेको ११औँ मरीन एक्सपेडिसनरी युनिट (MEU) हाल यूएसएस बक्सर एम्फिबियस रेडी ग्रुप का जहाजमार्फत क्षेत्रमा तैनाथ छ। यस युनिटलाई उद्धार, समुद्री अवतरण, आकस्मिक आक्रमण तथा विशेष सैन्य अभियान सञ्चालनका लागि प्रयोग गरिन्छ। साथै, अमेरिकी सेनाको ८२औँ एयरबोर्न डिभिजन अन्तर्गतको इमिडियट रेस्पोन्स फोर्स पनि केही घण्टामै बन्दरगाह वा विमानस्थल नियन्त्रणमा लिन सक्ने क्षमतासहित तयारी अवस्थामा रहेको जनाइएको छ।