स्ट्रेट अफ होर्मुज क्षेत्रमा बढ्दो तनावबीच संयुक्त अरब इमिरेट्स (यूएई) ले आफ्ना दुई तेल ट्यांकरमाथि इरानले क्षेप्यास्त्र आक्रमण गरेको आरोप लगाएको छ। सोमबार भएको उक्त आक्रमणमा एक भारतीय चालक दलका सदस्यको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको यूएई रक्षा मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार घाइतेमध्ये छ जना भारतीय र दुई जना युक्रेनी नागरिक छन्। यूएईले घटनालाई अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लंघन तथा क्षेत्रीय शान्ति र सुरक्षामाथिको प्रत्यक्ष चुनौती भन्दै कडा शब्दमा निन्दा गरेको छ।
यता, इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले भने ती ट्यांकरहरूले पूर्वचेतावनी बेवास्ता गरेको, नेभिगेसन प्रणाली बन्द गरेर माइन बिछ्याइएको मार्ग प्रयोग गर्न खोजेको दाबी गर्दै आक्रमणको पुष्टि गरेको छ। आईआरजीसीका अनुसार ट्यांकरहरूलाई निष्क्रिय बनाइएको छ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुज हुँदै हुने सबै कार्गो ढुवानीमा २० प्रतिशत शुल्क लगाउने तथा इरानी बन्दरगाहहरूमाथि पुनः नौसैनिक नाकाबन्दी लागू गर्ने घोषणा गरेका छन्।
ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत अमेरिकाले अब स्ट्रेट अफ होर्मुजको सुरक्षा सुनिश्चित गर्ने जिम्मेवारी लिने र त्यसबापत सबै कार्गोमा २० प्रतिशत शुल्क असुल गरिने बताएका छन्। उनका अनुसार नयाँ व्यवस्था मंगलबारदेखि लागू हुनेछ।
ह्वाइट हाउसमा सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले अमेरिकी सेनाले लगातार तेस्रो रात पनि इरानका सैन्य लक्ष्यहरूमा आक्रमण गरेको जानकारी दिए। उनले इरानसँग सम्झौताको सम्भावना अझै जीवित रहेको पनि बताएका छन्।
अमेरिकी सेनाको सेन्ट्रल कमाण्ड (सेन्टकम) का अनुसार राष्ट्रपति ट्रम्पको निर्देशनमा बुशेहर, चाबहार, जास्क, कोनारक, अबु मुसा र बन्दर अब्बासलगायतका सैन्य लक्ष्यमा आक्रमण गरिएको हो। यी कारबाही इरानको व्यावसायिक जहाजमाथि आक्रमण गर्ने क्षमता कमजोर पार्ने उद्देश्यले गरिएको सेन्टकमको दाबी छ।
इरानले भने जवाफी कारबाहीस्वरूप कुवेतस्थित अमेरिकी सैन्य सम्पत्तिलाई निशाना बनाएको दाबी गरेको छ। साथै बहराइन र जोर्डनस्थित अमेरिकी सैन्य संरचनामाथि पनि क्षेप्यास्त्र प्रहार गरिएको आईआरजीसीले जनाएको छ।
अमेरिकी घोषणाप्रति प्रतिक्रिया दिँदै इरानका विदेशमन्त्री अब्बास अराघचीले स्ट्रेट अफ होर्मुजको वास्तविक ‘संरक्षक’ इरान नै रहेको बताएका छन्। उनले ट्रम्पले घोषणा गरेको २० प्रतिशत शुल्क अत्यधिक भएको टिप्पणी गर्दै इरानले जलमार्गको सुरक्षामा आफ्नो भूमिका निरन्तर निभाउने बताएका छन्।
यस घटनापछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य फेरि उकालो लागेको छ। ब्रेन्ट क्रुडको मूल्य करिब ०.७ प्रतिशतले बढेर प्रतिव्यारेल ८३.८७ अमेरिकी डलर पुगेको छ भने अमेरिकी डब्ल्यूटीआई कच्चा तेलको मूल्य पनि ०.९ प्रतिशतले वृद्धि भएको छ।
संयुक्त राष्ट्रसंघअन्तर्गतको अन्तर्राष्ट्रिय सामुद्रिक संगठन (आईएमओ) ले अन्तर्राष्ट्रिय जलमार्ग प्रयोग गरेबापत अनिवार्य शुल्क असुल्ने कुनै कानुनी आधार नरहेको स्पष्ट पारेको छ।
विश्वको करिब २५ प्रतिशत कच्चा तेल र २० प्रतिशत तरलीकृत प्राकृतिक ग्यासको ढुवानी हुने स्ट्रेट अफ होर्मुज विश्व ऊर्जा आपूर्तिको सबैभन्दा संवेदनशील समुद्री मार्गमध्ये एक मानिन्छ। यस क्षेत्रमा बढ्दो तनावले विश्व ऊर्जा बजार, अन्तर्राष्ट्रिय व्यापार तथा मध्यपूर्वको सुरक्षा अवस्थामाथि गम्भीर प्रभाव पार्न सक्ने विश्लेषण गरिएको छ।