थाइल्याण्डको राजधानी बैंककस्थित चाटुचक जिल्लाको लोकप्रिय बार रोङ बियर ना लाट फ्राओ मा आइतबार राति भएको भीषण आगलागीमा कम्तीमा २७ जनाको मृत्यु भएको छ भने आठ जना गम्भीर घाइते भएका छन्।
प्रत्यक्षदर्शीका अनुसार आगलागी बारको स्टेज नजिकबाट सुरु भएको थियो। आगो तीव्र गतिमा फैलिँदा विद्युत् आपूर्ति बन्द भएको र केहीबेरमै धुवाँले बारभरि ढाकेको थियो। सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा ग्राहकहरू चिच्याउँदै भागिरहेको र कतिपयको लुगासमेत आगोले जलेको देखिन्छ।
मध्यरातपछि घटनास्थल पुगेका दमकलकर्मीले करिब आधा घण्टामा आगो नियन्त्रणमा लिएका थिए। उद्धारका क्रममा अधिकांश मृतकको शव शौचालयभित्र फेला परेको थियो। उनीहरू धुवाँ र आगोबाट बच्न त्यहाँ आश्रय लिन पुगेको प्रारम्भिक अनुमान गरिएको छ।
प्रारम्भिक अनुसन्धानअनुसार एयर कन्डिसनर (एसी) मा भएको विद्युतीय सर्ट सर्किटका कारण आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ। यद्यपि आगलागीको आधिकारिक कारण भने अझै सार्वजनिक गरिएको छैन। अधिकारीहरूले घटनाबारे विस्तृत अनुसन्धान भइरहेको बताएका छन्।
थाइल्याण्डका प्रधानमन्त्री अनुतिन चार्नभिराकुलले घटनास्थलको निरीक्षणपछि आगलागी हुँदा प्रस्तुति दिइरहेका एक संगीतकर्मीलाई उद्धृत गर्दै ठूलो विस्फोटजस्तो आवाज आएपछि सबै जना धुवाँ र आगोबाट बच्न भाग्न थालेको बताए। उनका अनुसार धेरै मानिस भवनको पछाडिपट्टि भागेर शौचालयमा लुकेका कारण बाहिर निस्कन सकेनन्।
अधिकारीहरूका अनुसार आगलागीमा नौ पुरुष र १८ महिलाको मृत्यु भएको छ। ६० भन्दा बढी घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ, जसमध्ये आठ जनाको अवस्था गम्भीर छ।
बैंकक विपद् न्यूनीकरण विभागका निर्देशक सुरियाचाइ रविवानले अधिकांशको मृत्यु धुवाँको अत्यधिक असरका कारण भएको प्रारम्भिक निष्कर्ष रहेको बताए। बैंककका गभर्नर चाडचार्ट सित्तिपुन्टले बारको छतमा प्रयोग गरिएका ज्वलनशील सजावटी सामग्रीले आगो तीव्र रूपमा फैलिन सहयोग गरेको हुन सक्ने बताए। आपत्कालीन निकास नजिक केही व्यक्ति अचेत अवस्थामा भेटिएकाले त्यहाँ अवरोध भएको हुन सक्ने आशंका पनि गरिएको छ। यद्यपि यी सबै विषय फरेन्सिक अनुसन्धानपछि मात्र पुष्टि हुने अधिकारीहरूले बताएका छन्।
स्थानीय बासिन्दा सुरिन जाइहार्नले आगोमा जलेका करिब पाँच जनालाई आफ्नै कपडाको सहायताले उद्धार गरेको बताए। अर्को प्रत्यक्षदर्शीले झ्याल फुटाएर दुई जनालाई बाहिर निकाल्न सफल भएको बताएका छन्।
सोमबार बिहानसम्म घटनास्थललाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। बारभित्रका फर्निचर, भित्ता र छत पूर्ण रूपमा जलेका छन् भने बाहिर शव राखिएका झोलाहरूको दृश्यले घटनाको भयावहता झल्काएको छ।
थाइल्याण्डमा यसअघि पनि यस्ता आगलागीका दुःखद घटना भएका छन्। सन् २०२२ मा बैंकक नजिकैको एक बारमा आगलागी हुँदा २२ जनाको मृत्यु भएको थियो भने सन् २००९ को नयाँ वर्षका अवसरमा बैंकककै एक नाइटक्लबमा लागेको आगोमा ६६ जनाले ज्यान गुमाएका थिए। सन् २०२४ मा चाटुचक खुला बजारमा भएको विद्युतीय सर्ट सर्किटबाट लागेको आगोले करिब एक हजार जनावर मरेका थिए।