नेपाली कांग्रेसको संस्थापन इतर समूहले छुट्टै कार्यालय स्थापना गरेको छ। सोमबार आयोजित एक कार्यक्रममा समूहका नेता पूर्णबहादुर खड्काले कार्यालयको साँचो खोलेर औपचारिक उद्घाटन गरेका हुन्।
उद्घाटन कार्यक्रममा शशांक कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौलालगायत नेताहरूको उपस्थिति रहेको थियो। उद्घाटनअघि उनीहरूबीच पार्टीको समसामयिक विषयमा छलफलसमेत भएको थियो।
छलफलका क्रममा पूर्णबहादुर खड्काले समूहको पछिल्लो अवस्थाबारे जानकारी गराउँदै आफूहरूसँग शेखर कोइरालासहित १११ जना रहेको र सोही संख्यालाई केन्द्रीय कार्यसमितिमा समायोजन गर्ने प्रस्ताव पार्टी नेतृत्वसमक्ष राखिएको बताए।
उनले सातबुँदे प्रस्तावको लिखित जवाफ उपसभापति विश्वप्रकाश शर्मालाई बुझाइसकेको जानकारी दिँदै, उक्त प्रस्ताव अन्तिम रूप दिइसकिएको र अन्य नेताहरूसँग पनि त्यसबारे छलफल हुने जानकारी आफूलाई दिइएको बताए।
खड्काका अनुसार विश्वप्रकाश शर्माले आफू र शेखर कोइरालालाई वरिष्ठ नेताको जिम्मेवारी दिने सहमति भइसकेको जानकारी दिएका थिए। तर आफूले उक्त प्रस्ताव अस्वीकार गरेको उनले बताए।
खड्काले त्यसपछि भोलिपल्टसम्म पार्टी नेतृत्वबाट कुनै ठोस जवाफ आउने अपेक्षा गरेको भए पनि कुनै जानकारी नआएको बताए। त्यसपछि महामन्त्री प्रदीप पौडेललाई उद्धृत गर्दै शीर्ष नेताहरूको सदस्यता स्वतः नवीकरण हुने विषयमा समाचार सार्वजनिक भएपछि देशभरबाट आफूलाई फोन आएको र सामाजिक सञ्जालमार्फत त्यसको खण्डन गरेपछि फोन आउन बन्द भएको उनले बताए।
उनले इतर समूहले अब आगामी दुई–तीन दिन नियमित छलफललाई निरन्तरता दिने र साउन ६ गते बीपी कोइराला जयन्तीका अवसरमा विशेष कार्यक्रम आयोजना गर्ने जानकारी दिए।