नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मधेस प्रदेशको चौथो पूर्ण बैठकले १५ बुँदे ‘सिमरा घोषणापत्र’ सार्वजनिक गर्दै सञ्चार क्षेत्र, प्रेस स्वतन्त्रता, आदिवासी जनजातिको अधिकार तथा कार्बन व्यापारबाट प्राप्त लाभांशको न्यायोचित वितरणलगायत विषयमा सरकारको ध्यानाकर्षण गराएको छ ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) संघीय अध्यक्ष लक्की चौधरीको अध्यक्षतामा असार १२ देखि १४ गतेसम्म जितपुर–सिमरा उपमहानगरपालिका–२ मा सम्पन्न बैठकले उक्त घोषणापत्र जारी गरेको हो ।
घोषणापत्रमा नयाँ सरकार गठनसँगै सरकारी विज्ञापन सरकारी सञ्चार माध्यममा मात्र सीमित गर्ने नीति खारेज गरी सबै सञ्चार माध्यमलाई समानुपातिक रूपमा वितरण गर्न, सञ्चार संस्थालाई प्रदान गरिँदै आएको अनुदान कटौती नगर्न तथा लोककल्याणकारी विज्ञापनको भुक्तानी र प्रकाशन प्रक्रियामा देखिएको अन्योल अन्त्य गर्न संघीय सरकारसँग माग गरिएको छ ।
बैठकले संघीय गणतन्त्रलाई थप सुदृढ र मितव्ययी बनाउन सञ्चार क्षेत्रले रचनात्मक भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेको छ । संघीयताको मर्मअनुसार प्रदेशहरूको नामकरण, भाषा आयोगको सिफारिसअनुसार प्रदेशका सरकारी कामकाजी भाषा कार्यान्वयन, पत्रकारहरूको भौतिक तथा व्यावसायिक सुरक्षाको सुनिश्चितता र पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति गर्न तीनै तहका सरकारसँग आग्रह गरिएको छ ।
त्यस्तै श्रमजीवी पत्रकारका लागि निर्धारण गरिएको न्यूनतम पारिश्रमिक कार्यान्वयन, मातृभाषी सञ्चार माध्यम तथा पत्रकारको संरक्षण र प्रवद्र्धन, प्रेस काउन्सिल नेपालको पत्रपत्रिका वर्गीकरण प्रणालीमा सुधार, पत्रकारसम्बद्ध संस्थाहरूलाई प्रदान गरिने अनुदानमा फोनिजलाई सम्मानजनक व्यवहार गर्न पनि बैठकले माग गरेको छ ।
घोषणापत्रमा संविधानले सुनिश्चित गरेका आदिवासी जनजातिका अधिकार प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक कानुन निर्माण गर्न, मुकुमलुङ केवलकार विवाद वार्ता र संवादबाट समाधान गर्न, नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्षसम्बन्धी विवाद समाधान गर्न तथा वन संरक्षण गरेबापत विश्व बैंकबाट प्राप्त करिब १ अर्ब ३४ करोड रुपैयाँ कार्बन लाभांश आदिवासी समुदायलाई न्यायोचित रूपमा वितरण गर्न सरकारसँग माग गरिएको छ ।
यसैगरी मधेस प्रदेशको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रको विकास र प्रवद्र्धनका लागि तीनै तहका सरकारले विशेष योजना अघि बढाउनुपर्नेमा बैठकले जोड दिएको छ ।
घोषणापत्र तयारी समितिमा अर्जुन जम्नेली राई (संयोजक), मिलन गाहा मगर (सदस्य सचिव) र दुश्यन्त चौधरी सदस्य रहेका थिए ।