मधेश प्रदेशमा मनसुन सक्रिय भए पनि धान रोपाइँले अपेक्षित गति लिन सकेको छैन। प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार असार १२ गतेसम्म कुल धान खेती हुने क्षेत्रफलको ४.३६ प्रतिशत अर्थात् १६ हजार ९११ हेक्टर क्षेत्रमा मात्रै धान रोपाइँ सम्पन्न भएको छ।
मन्त्रालयका सूचना अधिकारी यज्ञ ज्ञवालीका अनुसार मधेश प्रदेशमा कुल ५ लाख ४९ हजार ३५६.३८ हेक्टर खेतीयोग्य जमिनमध्ये ३ लाख ८७ हजार ९३३ हेक्टर क्षेत्रमा धान खेती हुने अनुमान गरिएको छ।
जिल्लागत विवरणअनुसार हालसम्म महोत्तरीमा सबैभन्दा बढी ८.१७ प्रतिशत धान रोपाइँ भएको छ। जिल्लाको ४० हजार हेक्टर धान खेती हुने क्षेत्रमध्ये ३ हजार २६६ हेक्टरमा रोपाइँ सम्पन्न भएको मन्त्रालयले जनाएको छ।
त्यसपछि धनुषा र बारामा समान ७ प्रतिशत प्रगति भएको छ। धनुषामा ४३ हजार ७ सय हेक्टरमध्ये ३ हजार ५९ हेक्टर तथा बारामा ४५ हजार १ सय हेक्टरमध्ये ३ हजार २ सय ५० हेक्टर क्षेत्रमा धान रोपाइँ गरिएको छ।
यस्तै, सिराहा र सप्तरीमा समान ५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। सिराहामा ५४ हजार हेक्टरमध्ये २ हजार ७ सय हेक्टर तथा सप्तरीमा ६८ हजार हेक्टरमध्ये ३ हजार ४ सय हेक्टर क्षेत्रमा धान रोपिएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।
सर्लाहीमा भने ४२ हजार ६ सय १५ हेक्टर धान खेती हुने क्षेत्रमध्ये १ हजार ३६ हेक्टरमा मात्रै रोपाइँ सम्पन्न भएको छ, जुन कुल क्षेत्रफलको २.५ प्रतिशत हो।
यता पर्सा र रौतहटमा भने हालसम्म धान रोपाइँ सुरु नै हुन सकेको छैन। सूचना अधिकारी ज्ञवालीका अनुसार चैते धानको कटानी सम्पन्न नभएकाले ती जिल्लामा रोपाइँ सुरु हुन नसकेको हो।
मन्त्रालयका अनुसार पर्सामा ५२ हजार ३३८ हेक्टर र रौतहटमा ३५ हजार हेक्टर क्षेत्रमा धान खेती हुने गरेको छ।
सूचना अधिकारी ज्ञवालीले पछिल्लो समय भइरहेको वर्षाका कारण अब धान रोपाइँले गति लिने विश्वास व्यक्त गरे। उनले भने, "अहिले पानी परिरहेको छ। जलवायु परिवर्तनको अवस्थालाई हेर्दा अहिलेसम्मको रोपाइँलाई अपेक्षित नै मान्न सकिन्छ। अबको वर्षासँगै रोपाइँले थप गति लिनेछ।"