फिफा विश्वकप २०२६ अन्तर्गत समूह डीको अन्तिम खेलमा अस्ट्रेलियाले पाराग्वेसँग गोलरहित बराबरी खेलेपछि अन्तिम ३२ मा स्थान सुरक्षित गरेको छ। बिहीबार सान फ्रान्सिस्को बे एरिया स्टेडियममा सम्पन्न प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोल गर्न नसक्दा खेल ०–० को बराबरीमा सकिएको हो।
यस नतिजासँगै अस्ट्रेलिया समूह डीको उपविजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेको छ। सह–आयोजक संयुक्त राज्य अमेरिकापछि दोस्रो स्थानमा रहेको अस्ट्रेलियाले अब समूह जीको उपविजेता टोलीसँग अन्तिम ३२ मा प्रतिस्पर्धा गर्नेछ। समूह जीमा इजिप्ट, इरान, बेल्जियम र न्युजिल्यान्डबीचको प्रतिस्पर्धापछि अस्ट्रेलियाको प्रतिद्वन्द्वी टुङ्गिनेछ।
अस्ट्रेलियाका प्रशिक्षक टोनी पोपोभिचले टोलीमा ६ परिवर्तन गर्दै नेस्टोरी इरानकुन्डा र क्रिस्टियन भोल्पाटोलाई सुरुआती रोजाइमा उतारेका थिए। खेलको सुरुआतदेखि अस्ट्रेलियाले बल नियन्त्रणमा राख्दै केही राम्रा अवसर सिर्जना गरे पनि त्यसलाई गोलमा परिणत गर्न सकेन।
खेल सुरु भएको केही मिनेटमै भोल्पाटोको पासमा ज्याक्सन इर्भिनले गरेको प्रहार पाराग्वेका गोलरक्षक ओरलान्डो गिलले सहजै बचाएका थिए। पहिलो हाफमा जोर्डन बोस र भोल्पाटोका थप प्रयास पनि गिलले विफल बनाएका थिए।
पहिलो हाफमा केवल एक प्रहार गरेको पाराग्वेले दोस्रो हाफमा आक्रामक खेल प्रस्तुत गर्यो। प्रशिक्षक गुस्ताभो अल्फारोले दोस्रो हाफको सुरुमै माउरिसियोलाई मैदानमा उतारेपछि टोलीले केही अवसर सिर्जना गर्यो। विशेषगरी जुलियो एन्सिसोले अस्ट्रेलियाली रक्षापंक्तिलाई पटक–पटक दबाबमा राखे पनि गोल गर्न भने सफल भएनन्।
खेलको ८२औँ मिनेटमा एन्सिसोको उत्कृष्ट अवसर पोस्टभन्दा बाहिरिएपछि पाराग्वे अग्रता लिनबाट चुक्यो। त्यसपछि ८९औँ मिनेटमा अस्ट्रेलियाका जोर्डन बोसले दुई डिफेन्डरलाई छल्दै गरेको शक्तिशाली प्रहार पनि लक्ष्यभन्दा थोरै बाहिरिएपछि खेल गोलरहित बराबरीमा सकियो।
बराबरीपछि पाराग्वेको चार अंक पुगेको छ। तेस्रो स्थानमा रहेको पाराग्वे उत्कृष्ट आठ तेस्रो स्थान प्राप्त टोलीमध्ये पर्दै नकआउट चरणमा पुग्ने सम्भावना कायम रहे पनि त्यसका लागि अन्य समूहका खेलको नतिजा कुर्नुपर्ने भएको छ।
अस्ट्रेलियाले भने प्रभावशाली प्रदर्शनभन्दा पनि संयमित खेलमार्फत लगातार तेस्रो पटक विश्वकपको नकआउट चरणमा स्थान बनाउन सफल भएको छ।