भेनेजुएलामा लगातार आएका दुई शक्तिशाली भूकम्पका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। करिब ४० सेकेण्डको अन्तरालमा आएका ७.२ र ७.५ म्याग्निच्युडका भूकम्पबाट हालसम्म ३२ जनाको मृत्यु भएको र ७०० जना घाइते भएको कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले जानकारी दिएकी छन्।
खोज तथा उद्धार कार्य अझै जारी रहेकाले मृतक र घाइतेको संख्या थप बढ्न सक्ने अधिकारीहरूले बताएका छन्। राजधानी कराकाससहित प्रभावित क्षेत्रमा उद्धार टोलीले भग्नावशेषभित्र फसेका मानिसहरूको खोजी गरिरहेका छन्। केही स्थानमा भग्नावशेषमुनिबाट मानिसहरूले सहयोगका लागि आवाज दिएको उद्धारकर्मीहरूले बताएका छन्।
अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले प्रारम्भिक अनुमानमा भूकम्पबाट ठूलो मानवीय क्षतिको सम्भावना औंल्याएको थियो। सर्वेक्षणले १० हजारभन्दा बढी मानिसको मृत्यु हुने सम्भावना ४४ प्रतिशत र एक लाखभन्दा बढी मृत्यु हुने सम्भावना ३० प्रतिशत रहेको आकलन गरेको थियो।
भूकम्पपछि राजधानी कराकासका धेरै क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ भने मेट्रो सेवा पूर्ण रूपमा बन्द गरिएको छ। भूकम्पको केन्द्र राजधानीको पश्चिमी क्षेत्रमा रहेको जनाइएको छ। यसको धक्का छिमेकी देश कोलम्बियाको राजधानी बोगोटासम्म महसुस गरिएको थियो।
स्थानीय समयअनुसार साँझ ६:०४ बजे आएको भूकम्प नेपाली समयअनुसार बिहीबार बिहान ३:४९ बजे गएको थियो। भूकम्प गएको समयमा भेनेजुएलामा राष्ट्रिय बिदा रहेकाले धेरै मानिसहरू घरमै रहेका थिए।
यसैबीच, अमेरिकाले भेनेजुएलाका लागि खोज तथा उद्धार टोली, चिकित्सकीय सामग्री र मानवीय सहायता पठाउन थालेको जनाएको छ। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत भूकम्पबाट प्रभावित परिवारप्रति समवेदना व्यक्त गर्दै उद्धार कार्यमा खटिएका टोलीप्रति सम्मान व्यक्त गरेका छन्।
अमेरिकी विदेश मन्त्रालयका अधिकारीहरूका अनुसार अमेरिकी टोली भेनेजुएली अधिकारीहरूसँग समन्वय गर्दै आवश्यक सहायता परिचालन गरिरहेको छ। प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई तीव्र बनाइएको छ।