राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि भइरहेको मतदान प्रक्रियामाथि नै प्रश्न उठ्न थालेको छ। विद्युतीय मतदान प्रणालीमा देखिएको अव्यवस्था र उम्मेदवारको सूची व्यवस्थापनप्रति उम्मेदवार तथा प्रतिनिधिहरूले असन्तुष्टि जनाएका छन्।
केन्द्रीय सदस्य चयनका लागि प्रयोग गरिएको भोटिङ मेसिनमा उम्मेदवारहरूको नाम व्यवस्थित ढंगले नराखिएको भन्दै कतिपय उम्मेदवारले आपत्ति जनाएका छन्। उम्मेदवारको नाम न वर्णानुक्रमअनुसार रहेको, न त उम्मेदवारी दर्ताको क्रमअनुसार राखिएको उनीहरूको गुनासो छ।
भूगोलतर्फबाट केन्द्रीय सदस्यका उम्मेदवार रहेका एक नेताले मतदान प्रणाली स्पष्ट नभएको बताए। उनका अनुसार भूगोलबाट चयन हुने ३५ जना बाहेकका ६४ जना उम्मेदवारको समूहसमेत छुट्याइएको छैन।
‘६४ जनामा कसलाई मतदान गर्ने भन्ने कुरा उम्मेदवारलाई नै स्पष्ट छैन,’ उनले भने। अर्का उम्मेदवार उत्तमप्रसाद पौडेलले पनि उम्मेदवारको नामावली प्रकाशन गर्ने शैलीप्रति असन्तुष्टि जनाएका छन्। नेपाली वर्णमाला, अंग्रेजी अल्फाबेट वा दर्ता क्रम कुनै पनि आधारमा सूची तयार नगरिएको उनको भनाइ छ। ‘उम्मेदवार नामावली देखेर आश्चर्य लाग्यो। न नेपाली लिपीअनुसार क्रम छ, न अंग्रेजी अल्फाबेटअनुसार मिलाइएको छ,’ पौडेलले सामाजिक सञ्जालमार्फत प्रश्न उठाएका छन्। उनले नामावली प्रकाशनको आधारबारे नेतृत्वसँग जवाफ माग्दै नयाँ पार्टीको व्यवस्थापनमै प्रश्न उठेको संकेत गरेका छन्।
सांसदहरूबाटै नेतृत्वमाथि आलोचना
महाधिवेशन व्यवस्थापनमा देखिएको कमजोरीप्रति रास्वपाका सांसद धनञ्जय रेग्मीले पनि असन्तुष्टि व्यक्त गरेका छन्। उनले पार्टी नेतृत्वको कार्यशैलीले अन्तर्राष्ट्रियस्तरमा पार्टीको छवि कमजोर बनाएको टिप्पणी गरे।
‘जुन गर्वका साथ हाम्रो पार्टी भनिरहेको थिएँ, अहिलेको व्यवस्थापनले अन्तर्राष्ट्रिय जगतमा पार्टीको बेइज्जत गरेको छ,’ उनले भने। नेतृत्वको आलोचना गरेपछि आफू निर्वाचनमा पराजित हुन सक्ने भए पनि पार्टी सुधारका लागि बोल्न आवश्यक ठानेको उनको भनाइ थियो। ‘यति भनेपछि धेरैले मत नदिन सक्छन्, म हार्न पनि सक्छु। तर यति बेथितिबाट देश चलाउन सकिँदैन,’ रेग्मीले भने।
मतदान प्रक्रियामै अन्योल
सांसद आशिका तामाङले पनि मतदान प्रणाली सहज नभएको बताइन्। विद्युतीय मतदान मेसिनमा आफूले चिनेका र योग्य ठानेका उम्मेदवार छान्न कठिन भएको उनको भनाइ छ।
उनका अनुसार प्रणालीमा निश्चित संख्यामा उम्मेदवारलाई अनिवार्य मतदान गर्नुपर्ने व्यवस्था गरिएको थियो।
‘६४ जनालाई भोट नहाली अर्को चरणमा जान नमिल्ने रहेछ। चिनेका उम्मेदवार मात्र छान्ने अवस्था भएन,’ उनले भनिन्। आफ्नै नाम खोज्नसमेत समय लागेको बताउँदै उनले मतदान प्रणाली थप व्यवस्थित हुनुपर्ने धारणा राखिन्। अछामका प्रतिनिधि एकेन्द्रप्रसाद देवकोटाले पनि धेरै उम्मेदवार नचिनेका कारण अनुमानका आधारमा मतदान गर्नुपरेको बताए। ‘६४ जनामध्ये सबैलाई चिन्न सम्भव हुँदैन। चिनेजति सम्भावित व्यक्तिलाई मतदान गरियो, नचिनेका उम्मेदवारलाई पनि मतदान गर्नुपर्ने अवस्था आयो,’ उनले भने।
उम्मेदवारको सूची र ह्वाट्सएप प्रचारले थप विवाद
महाधिवेशन प्रतिनिधिहरूबीच उम्मेदवारको नामसहितका सूचीहरू ह्वाट्सएपमार्फत फैलिन थालेपछि पनि असन्तुष्टि बढेको छ। एक प्रतिनिधिका अनुसार पार्टी नेतृत्वले गुटबन्दी नभएको दाबी गरे पनि विभिन्न समूहबाट फरक–फरक नामका सूचीहरू आउन थालेका छन्। रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया अघि बढिरहेका बेला मतदान व्यवस्थापनमै देखिएका कमजोरीले पार्टीभित्र पारदर्शिता र संगठनात्मक तयारीबारे बहस सुरु भएको छ।