बारा जिल्लाको परवानीपुर गाउँपालिकाको १८ औं गाउँसभा अधिवेशनले आर्थिक वर्ष २०८३/८४ का लागि नीति तथा कार्यक्रम तथा बजेट पारित गरेको छ ।
गाउँसभामा प्रस्तुत बजेटअनुसार आगामी आर्थिक वर्षका लागि कुल ३६ करोड ६३ लाख १० हजार रुपैयाँ विनियोजन गरिएको छ । कुल बजेटमध्ये करिब ६० प्रतिशत चालू खर्च र ४० प्रतिशत पूँजीगत खर्चका लागि छुट्याइएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा शिक्षा, पूर्वाधार विकास, भूमि प्रशासन, सरसफाइ, आर्थिक विकास तथा प्रभावकारी सेवा प्रवाहलाई प्रमुख प्राथमिकतामा राखिएको छ ।
नीति तथा कार्यक्रमअनुसार गाउँपालिकाभित्र अधूरा रहेका विद्यालय भवनहरूको निर्माण कार्य सम्पन्न गरिनेछ । करदाता सेवा गाउँपालिकाबाटै उपलब्ध गराउने, भूमि प्रशासनसम्बन्धी सेवा स्थानीय तहबाट सञ्चालन गर्ने तथा वडा नम्बर १ मा नदी नियन्त्रणको कार्य सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।
गाउँपालिकाले लिपनीमालस्थित गुर्दी बजार क्षेत्रमा सडकको उत्तर–दक्षिण भागमा भवन निर्माण सम्पन्न गर्ने योजना अघि सारेको छ । त्यस्तै वडा नम्बर ५ बहुअरीमा मुख्य सडक तथा नाला निर्माण, थप विद्यालय भवन तथा बालविकास केन्द्र निर्माणलाई पनि प्राथमिकतामा राखिएको छ ।
गाउँसभाले गाउँपालिकाभर नियमित सरसफाइ तथा फोहोरमैला व्यवस्थापन कार्यक्रम सञ्चालन गर्ने नीति स्वीकृत गरेको छ । नवप्रवर्तनमा आधारित आर्थिक विकास कार्यक्रममार्फत स्थानीय उत्पादनको प्रवद्र्धन, रोजगारी सिर्जना तथा आर्थिक गतिविधि विस्तार गर्ने लक्ष्यसमेत निर्धारण गरिएको छ ।
अधिवेशनमा सङ्घीय तथा प्रदेश सरकारसँग समन्वय, गैरसरकारी संस्थासँग सहकार्य, सार्वजनिक–निजी साझेदारी तथा जनसहभागितामार्फत विकास निर्माणका कार्यलाई प्रभावकारी रूपमा अघि बढाइने प्रतिबद्धता व्यक्त गरिएको थियो ।
गाउँपालिका अध्यक्ष रामक्षत्रीप्रसाद कुर्मीले नीति तथा कार्यक्रमको सफल कार्यान्वयनका लागि जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल तथा स्थानीयवासीबीच सहकार्य अपरिहार्य रहेको बताए ।
उनले समग्र विकास, सुशासन र नागरिकलाई सहज तथा गुणस्तरीय सेवा प्रवाहलाई केन्द्रमा राखेर बजेट तथा नीति तथा कार्यक्रम ल्याइएको उल्लेख गरे ।