वीरगञ्ज उद्योग वाणिज्य सङ्घको आयोजना, औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको सहकार्य तथा सङ्घको स्टार्टअप एण्ड इनोभेसन कमिटीको समन्वयमा सञ्चालित ‘बिसिसिआई स्टार्टअप एण्ड इन्क्युबेशन कार्यक्रम २०२६’ अन्तर्गतको निःशुल्क व्यवसाय संवर्द्धन कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमको उद्घाटन निम्बस समूहका अध्यक्ष तथा उद्योगी जगदीश अग्रवालको प्रमुख वक्तव्यबाट गरिएको थियो। समापन कार्यक्रम सङ्घका सहसचिव तथा स्टार्टअप एण्ड इनोभेसन कमिटीका संयोजक अनुपकुमार अग्रवालको अध्यक्षतामा सम्पन्न भएको थियो भने सङ्घका अध्यक्ष हरिप्रसाद गौतम प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा वरिष्ठ उपाध्यक्ष माधवराज पाल तथा उपाध्यक्ष आशिष लाठको विशेष आतिथ्यता रहेको थियो।
युवा उद्यमी तथा नवप्रवर्तन क्षेत्रमा रुचि राख्ने व्यक्तिहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको १३ दिने मास्टरक्लास श्रृङ्खलामा व्यवसाय सञ्चालन तथा व्यवस्थापन, वित्तीय योजना, बजार विस्तार, ब्रान्डिङ, लगानी तयारी र सञ्चालन व्यवस्थापनलगायत विषयमा प्रशिक्षण प्रदान गरिएको थियो।
कार्यक्रममा स्टार्टअप तथा उद्यमशीलता क्षेत्रमा रुचि राख्ने युवाहरूको उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ। प्रशिक्षणका क्रममा सहभागीहरूले व्यवसायिक योजना निर्माण, वित्तीय व्यवस्थापन, बजार विश्लेषण, कानुनी अनुपालन, लगानी तयारी तथा सञ्चालन व्यवस्थापनका विविध पक्षबारे व्यवहारिक ज्ञान हासिल गरेका छन्।
आयोजकका अनुसार यस कार्यक्रमले युवा उद्यमीहरूलाई आवश्यक सीप, ज्ञान तथा नेटवर्किङ अवसर उपलब्ध गराउँदै नेपालको स्टार्टअप र नवप्रवर्तन प्रणालीलाई थप सुदृढ बनाउन योगदान पुर्याउने अपेक्षा गरिएको छ।
समापन समारोहमा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। कार्यक्रममा प्राप्त ज्ञान र अनुभवलाई व्यवहारमा उतार्दै नयाँ उद्यम स्थापना तथा विद्यमान व्यवसाय विस्तारमा सहभागीहरूले उल्लेखनीय सफलता हासिल गर्ने विश्वास व्यक्त गरिएको छ।